

माघ १५ गते ,डोटी : महिलाहरूको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान माघ २२ गते देखि फागुन ६ गते सम्म डोटी जिल्लामा सञ्चालन हुने भएको छ ।

मङ्गलवार जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा एचपिभी खोप अभियान सम्बन्धी खोप समन्वय समिति , पत्रकार तथा सरोकारवाला बालाहरूसँगको बैठक तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जिल्लामा ११ हजार ४ सय ८७ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने लक्ष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लामा यही माघ २२ गते देखि फागुन २८ गते सम्म १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई क्यान्सर विरुद्धको खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने कार्यक्रम रहेको प्रमुख मलासीले बताए । खोप सञ्चालनको बारेमा जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वास्थ्य संस्थासँग समन्वय भइसकेको समेत बताए ।
जिल्लाको स्थानीय तहगत रूपमा हेर्दा बडी केदार गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय ४१ र नजाने ८ जना गरी ७ सय ४९ जना, बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय जाने किशोरी ७ सय २९ र नजाने ४८ जना गरी ७ सय ७७ जना, जोरायल गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ८७ र नजाने १० जना गरी १ हजार ९७ जना, सायल गाउँपालिकामा विद्यालय जाने किशोरी ९ सय ४८ र नजाने ५२ जना गरी १ हजार जना, दिपायल सिलगढी नगरपालिका विद्यालय जाने किशोरी १ हजार ९ सय ३९ र नजाने १ सय २ जना गरी २ हजार ४१ जना, शिखर नगरपालिका विद्यालय जाने किशोरी १ हजार ६ सय १४ र नजाने ६३ जना गरी १ हजार ६ सय ७७ जना, के आई सिंह गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार २ सय ६८ र नजाने ११ जना गरी १ हजार २ सय ७९ जना, पुर्विचौकी गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार १ सय ४७ र नजाने ५७ जना गरी १ हजार २ सय ४ जना र आदर्श गाउँपालिकामा विद्यालय जाने किशोरी १ हजार ४ सय २८ र नजाने २ सय ३५ गरी १ हजार ६ सय ६३ जना किशोरीहरूलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले बताए ।

जिल्लाभरि विद्यालय जाने १० हजार ९ सय १ र विद्यालय नजाने ५ सय ८६ गरी ११ हजार ४ सय ८७ किशोरीलाई खोप लगाइने बताए । खोप लगाउनका लागि जिल्लाभर ३ सय २ खोप केन्द्रमा ३ सय ३ जना स्वास्थ्यकर्मी र ६ सय ४ जना स्वयंसेवक परिचालन गरिने समेत कार्यक्रम संयोजक विष्टले बताए ।
नेपालले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।
खोप अभियानलाई सफल बनाउन सरोकारवाला सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको औँल्याउँदै प्रचारप्रसारमा सहयोग गर्न मलासीले आग्रह गरे।
यस अभियानले पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने र महिला स्वास्थ्यका क्षेत्रमा ठुलो योगदान दिने अपेक्षा गरिएको छ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने पाइएको छ।
खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहको अध्यक्षता गरिएको कार्यक्रममा समन्वय उप प्रमुख स्मृति चुनारा,दिसिनपा उप प्रमुख कलावती महर साउँद,प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी,जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपाली,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विनोद शर्मा , सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुबेदी , शिक्षा समन्वय इकाई प्रमुख भीम पनेरू ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बम ,गैसस अध्यक्ष लाल बिक, स्वास्थ्य कर्मी ,रेडक्रस प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
