पुस २७गते ,डोटी : डोटी स्थिति सरकारी तथा अन्य कार्यालयबाट हुने सेवा प्रवाह सम्बन्धी पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा नेपाल पत्रकार महासंघ डोटीको सहजिकरणमा शुक्रवार कार्यक्रमको आयोजना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षता तथा प्रमुख जबाफदेही वत्ता भएको कार्यक्रममा जिल्ला स्थिति सरकारी कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघ ,यातायात व्यवसायी ,हाेटल व्यवसायी संघ,गैरसरकारी संस्था महासंघ , सिलगढी खानेपानी कार्यालय ,नागरिक समाजका अगुवाहरू र पत्रकारहरूको सहभागीतामा रहेको थियो ।
जिल्ला स्थित कार्यालयबाट हुने सेवा प्रवाह , सञ्चालित विकास निर्माण आयोजना र प्राप्त गुनासो तथा सो गुनासो सम्बोधन गर्न कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
सेवा प्रदायक संस्थामा हुने कार्य सम्पादन र नागरिकको सन्तुष्टिको स्तर मापन गर्न समेत कार्यक्रम सहयोग पुगेको उनले बताए ।
कार्यक्रममा उठेका सेवा प्रभाव कुरा देखि विकास निर्माणका कार्यलाई व्यवहारमा कसरी समाधान गर्न सकिन्छ त्यता तर्फ जोड दिन प्रमुख जिल्ला अधिकारी जोशीले निर्देशन दिए ।
सेवा प्रभाव ,सुशासन र विकास निर्माणका गतिविधिलाई अझै कसरी प्रभाकारी बनाउन सकिन्छ त्यता तर्फ जोड दिन उनले सबैमा आग्रह गरे ।
कार्यक्रममा कार्यालयका प्रमुख तथा प्रतिनिधिले आफ्नो कार्यालयमा भए गरेका कामको प्रगति , समस्या र चुनौती राखेका थिए ।
जिल्लाका अधिकांश कार्यालयका प्रमुखले दरबन्दी अनुसार कर्मचारी अभाव रहेकाले काम गर्न असहज भएको बताए थिए ।
सुनुवाइमा सडक ,टेलिकम ,खानेपानी ,यातायात, पुल पुलेसा र लागू औसध दुर्व्यसनी सम्बन्धीका समस्याका बारेमा बढी कुरा उठेका थिए ।
सार्वजनिक यातायातलाई मात्र कानुन लाग्ने कुरा त्यति यथोचित नभएको शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीले बताए । कानुन लाग्ने भए सबैलाई समान तरिकाले हेर्नुपर्ने बताउँदै रातो प्लेट लगायतलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।
समस्या समाधान नभए व्यवसायीले यातायात चलाउन गाह्रो हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले जिल्ला प्रशासन कार्यालयले जिल्लामा पहिलो पटक जिल्ला स्थित सरकारी तथा अन्य कार्यालयबाट हुने सेवा प्रवाह , सञ्चालित विकास निर्माण आयोजना र प्राप्त गुनासो तथा सो गुनासो सम्बोधन गर्न गरिएको कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । यस्ता किसिमका बहस छलफललाई आगामी दिनमा निरन्तरता दिँदै समस्या समाधानमा विशेष जोड दिनुपर्ने अध्यक्ष बमले बताए ।
जिल्ला स्थिति सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सम्बन्धी गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोहन शाहीले गरेका थिए ।