पुष ८, डोटी : टुहुरा तथा बेसहारा बालबालिकालाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरिएको छ।
केआइसिंह गाउँपालिका- ४ पिलेगडामा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १३ जना टुहुरा तथा बेसहारा बालबालिकालाई सुजङ्ग अस्पताल र सुजङ्ग स्कुलले न्यानो लुगा, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेको हो ।
सुजङ्ग अस्पताल र स्कूलले ४ वटा कम्मलसहित १३/१३ जोर न्यानो लुगा, टोपी, पञ्जा, स्टेसनरी र खेलकुद सामग्री गरी ५१ हजार बराबरको सामग्री वितरण गरेको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
केआइसिंह गाउँपालिकाले टुहुरा बालबालिका पढाउन छात्रावाससहित सो विद्यालय मंसिर देखि सञ्चालनमा ल्याएको प्रधानाध्यापक पदम विष्टले बताए ।
सहयोग हातहरुले उपलब्ध गराएको सामग्रीहरूले विद्यालय तथा बालबालिकाहरुलाई ठूलो सहयोग पुग्ने बिष्टले बताए ।
छात्रावासमा केआई सिंह गाउँपालिकाका ७, बोगटान फुडसिल गाउँपालिकाका २, बडीकेदार गाउँपालिकाका २ र कैलाली चुरेका २ गरी १३ अनाथ बालबालिका अध्ययनरत छन् ।
वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह, नेपाली कांग्रेसका उप-सभापति नारायण जोशी, वडाध्यक्ष जयलाल धामी, सुजङ अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायर , सुजङ्ग स्कुलका सञ्चालक नरेश बलायर लगायतको सहभागिता रहेकोे थियो ।