Sujang

डोटीमा एकद्धार सङ्कट व्यवस्थापन सेवालाई व्यवस्थित गर्न सरोकारवाला निकाय प्रतिबद्ध

गणेश मौनी ,पुस ५ डोटी:डोटी जिल्लामा एकद्धार सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षित अल्पकालीन सेवालाई व्यवस्थित गर्न सरोकारवाला निकायहरूले प्रतिबद्धता जनाएका छन् ।

जिल्ला अस्पताल डोटीले शुक्रवार सिलगढीमा आयोजना गरेको महिला मैत्री न्याय सम्पादनका लागि एकद्धार सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहका जनप्रतिनिधि बिचको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायहरूले सेवालाई व्यवस्थित गर्न प्रतिबद्धता जनाएका हुन् ।

लैङ्गिक हिंसाका घटनाहरू घट्न नदिन सबैको साझा पहल आवश्यक रहेको कार्यक्रमका सभाध्यक्ष एवं डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले भने जिल्लामा लैङ्गिक हिंसा हुने प्रकृतिका घटनाहरू हुन नदिन पूर्व तयारी आवश्यक रहेको बताए ।

जिल्लामा स्थानीय तहहरूले सबै वडाहरूमा लैङ्गिक हिंसा, लागु पदार्थ, घरेलु हिंसा, महिला हिंसा न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने, जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनलाई व्यवस्थापन तथा नियमन लगायतका विषयमा सबैको ध्यान जान आवश्यक रहेको समेत प्रजिअ जोशीले बताए ।

लैङ्गिक हिंसामा सबैभन्दा बढी गरिब बेरोजगार महिलाहरू पर्ने भएकोले तिनीहरूलाई सबै निकायबाट सहयोगको आवश्यकता रहेको कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । डोटी जिल्लामा प्रभावित महिलाहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन स्थानीय सरकारहरूले आर्थिक रूपमा सहयोग गर्न प्रतिबद्धता जनाएकोले आगामी दिनमा सेवा प्रवाहमा प्रभावकारिता आउने समेत प्रमुख सिंहले बताए ।

हिंसा प्रभावित महिलाहरूका लागि एकद्धार सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षित अल्पकालीन सेवा अति महत्त्वपूर्ण भएकोले यस विषयमा जिल्ला स्थित स्थानीय तहहरूले तिनीहरूको न्याय प्राप्त गर्न सहज होस भन्ने हेतुले आवश्यकताको आधारमा खान, बस्न, आउन, जान, कानुनी सहायता प्रदान गर्न आवश्यकता अनुसार आर्थिक सहयोग गर्न पालिकाहरूले प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा एकद्धार सङ्कट व्यवस्थापन केन्द्रको बारेमा जानकारी, सुरक्षित अल्पकालीन सेवा केन्द्रले गरिरहेका गतिविधि, जिल्लामा प्रभावितहरूको अवस्था, महिला मैत्री न्याय तथा सुरक्षाको महत्त्व, महिलाहरूका क्षेत्रमा बनेका कानुनी प्रावधानहरूको बारेमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उप प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, प्रजिअ, सुरक्षा निकाएका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरोकारवाला निकाएको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना गर्न सम विकास केन्द्र डोटी र एक्सन एडले सहयोग गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.