Sujang

सडक जीवन बिताइ रहेका वृद्धको उद्धार

मंसिर १३ गते ,डोटी : बर्षाै देखि सडक पेटीमा आश्रित एक जना वृद्धको उद्वार गरिएको छ । अछामको मङ्गलसेन कालागाउ घर बताउने अन्दाजी ६५ वर्षीय चन्द्र आउजीलाई  सडक पेटीबाट उद्वार गरिएको हो ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार प्रकाश बमले ती वृद्ध बर्षाै देखि सडकमा कष्टकर जीवन बिताइरहेको उनको आवाज सहितको भिडियो सामग्री सम्प्रेषण गरे पछि विभिन्नको सहयोगमा उद्वार गरिएको छ ।

मङ्गलवार वृद्धलाई जिल्ला प्रशासन डोटीको समन्वय तथा दिपायल सिलगढी पालिकाको सहयोगमा  कैलालीमा रहेको सहारा घरमा राखिएको छ।

कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताका बिच कष्टकर सडक जीवन बिताउँदै आएका आउजिलाई दिपायल सिलगढी नगरपालिका नगरपालिकाको आफ्नै बोलेरो जिपमा सहयोगी सहित कैलालीमा रहेको सहारा घरमा पुर्‍याउन सफल भएको नगर प्रमुख बाजि सिंह खड्काले बताए । उनले भने ,’ अहिले पनि सडक पेटीमा कयौँ मानिस कष्टकर जीवन बिताइ रहेका छन् । उहाँहरूको संरक्षण र अभिभावकत्व ग्रहण गर्नु हाम्रो परम कर्तव्य हो ।’
उनले थपे ,’बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावकविहीन मानवहरूको संरक्षणमा स्थानीय सरकारले विगत देखि निरन्तर कार्य गरिरहेको छ। आगामी दिनमा पनि साथ सहयोग हुनेछ । यस्ता मानवीय सेवामा सबैको साथ सहयोगको आवश्यकता रहन्छ ।’

विभिन्न कारणले परिवारबाट बिच्छेद भई सडकको आश्रय लिन बाध्य भएकाहरूको उद्वार र व्यवस्थापन गर्ने कार्यमा सबैले हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

विगत ८-९ वर्षदेखि उनी विभिन्न जिल्लामा सडकमा बस्दै आएका थिए।

बेसहारा वृद्धलाई आफूले प्रयोग गरिएको जिपमा सुरक्षित सहार घर सम्म पुर्‍याउँदा निक्कै खुसी भएको नगर उप प्रमुख कलावती महर साउँदले बताइन् ।
हामीले धर्म कमाउन धेरै टाढा जानू पर्दैन यस्तै मानवीय सेवा गरे पुग्ने उनले बताइन् ।

सडक आश्रित मानवहरूको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथ साहारा आश्रम खोलेको सञ्चालक बल बहादुर विष्टले बताए ।

साहारा आश्रमले विसं २०७२ देखिनै सडकबाट उद्धार गरेर संरक्षण गर्दै अनि परिवार पत्ता लगाएर पुनर्मिलन गराउँदै आएको उनले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.