कार्तिक २७ गते ,डोटी : डोटीमा सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्रको कार्यविधि निर्माणका लागि प्रारम्भिक मस्यौदा माथि छलफल गरिएको छ ।
मङ्गलवार सेभ हाउसको आयोजनामा नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बिच कार्यविधि निर्माणका लागि प्रारम्भिक मस्यौदा माथि छलफल गरिएको हो ।
जिल्लामा विगत लामो समयदेखि सञ्चालन भइरहेको एक मात्र सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्रलाई अझै कसरी व्यवस्थित रूपमा अगाडी बढाउन सकिन्छ भन्ने उद्देश्यले प्रारम्भिक मस्यौदा माथि छलफल गरिएको सेवा केन्द्रका मनोबिमर्शकर्ता वन्दना बमले बताइन् ।
प्रारम्भिक मस्यौदा छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले सेभ हाउसलाई दीर्घकालीन रूपमा सञ्चालन तथा व्यवस्थापन गर्नको लागि सबै सहयोग आवश्यक रहने बताए ।
तत्काल संस्था केही स्थानीय तहको सहयोग रहेपनी जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।
मस्यौदालाई मूर्तरूप दिएर अगाडी बढ्न सके सेवा केन्द्र सञ्चालनमा सहयोग पुग्ने संयोजक सिंहले बताए ।
त्यस्तै छलफल कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका उप -प्रमुख कलावती महर साउँदले सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्रलाई अहिले संघ संस्थाको सहयोग रहेता पनि दीर्घकालीन सञ्चालनका लागी सबै पालिकाको सहयोग आवश्यक रहेको बताइन् । सेवा केन्द्रलाई स्थापित गर्न अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिइन् ।
प्रारम्भिक मस्यौदा छलफल कार्यक्रममा दिसिनपा निमित्त प्रशासकीय अधिकृत रमेश चन्द्र जोशी, महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बु ,साथी संस्थाका कार्यकारी निर्देशक सुवेक्षा राणा, कार्यक्रम संयोजक पलिता थापा , पोटफ्ल्यु म्यानेजर सन्तोष पोख्रेल ,लेखा अधिकृत देवेन्द्र बस्नेत लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
अधिवक्ता लवदेव भट्टले सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्रको कार्यविधि निर्माणका लागि प्रारम्भिक मस्यौदा तयार गरेका थिए ।
त्यस्तै मस्यौदा तयारका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । दिपायल सिलगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश चन्द्र जोशीको संयोजकत्वमा समिति गरिएको छ । जसको सदस्यमा महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बु ,युएनएफपिएका कार्यक्रम अधिकृत भरत गोतामे ,अधिवक्ता लवदेव भट्ट र सेभ हाउस प्रमुख तथा मनोबिमर्शकर्ता वन्दना बम रहेका छन् ।
सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्रले जिल्लाका नौ वटै स्थानीय तहबाट आएका प्रभावित महिला तथा बालबालिकाहरूलाई सुरक्षित आवास, उपचार, न्यायमा पहुँच, मनोबिमर्श, पुनः स्थापना तथा जीवन निर्वाहका लागि सिपमूलक तालिमहरू दिँदै आइरहेको छ मनोबिमर्शकर्ता बमले बताइन् ।