भदौ ७ गते, डोटी : डोटीको सायल गाउँपालिका – ४ मा रहेको स्वास्थ्य चौकी डौडमा निर्माण भएको चार कोठे स्वास्थ्य भवन तथा प्रसूति गृह र स्वास्थ्य सामाग्रीहरू एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
बिहीबार प्रि–फ्याववाट निर्माण गरिएको स्वास्थ्य भवन तथा प्रसूति गृह सायल गाउँपालिकालाई आड्रा नेपाल र इन्रुडेक वाकेले एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो।
उक्त क्षेत्रमा खप्तड केन्द्र विन्दु बनाएर ०७९ साल कार्तिक २२ गते राती आएको विनाशकारी भूकम्पले सायल गाउँपालिकामा रहेका सबै वडा तथा टोलहरूमा रहेका सार्वजनिक संघ संस्थाका भवन लगायत अन्य भौतिक संरचनाहरूमा क्षति पुर्याएको थियो ।
उक्त विनाशकारी भूकम्पले डौड स्वास्थ्य चौकीको भवन पूर्ण रूपमा क्षति पुर्याए पछि समुदायका व्यक्तिहरूलाई उपचार तथा प्रसूति सेवा दिनका लागि निकै जटिलता आएको थियो ।
तत्कालका लागि अस्थायी टहराबाट बिरामीहरूलाई उपचार सेवा दिने गरेको र जीर्ण अवस्थामा रहेको पुरानो भवनबाट प्रसूति सेवा दिँदै आएको थियो ।
नवनिर्मित भवनबाट स्वास्थ्य सम्बन्धीका सबै सेवाहरू प्रवाह हुने तथा बिरामीहरूलाई उपचार सेवा र प्रसूति सेवा दिनका लागि निकै सहज हुने स्वास्थ्य शाखा प्रमुख धर्म सिंह बमले बताए ।
उक्त डौड स्वास्थ्य चौकीमा भवन निर्माण भए पछि त्यस क्षेत्रका बासिन्दाहरूले सहजपुरमा स्वास्थ्य सम्बन्धी सेवाहरू लिन सक्ने र प्रसूति सेवाका लागि पनि सहज भएकाले यसको मर्मत सम्भारमा ध्यान दिन स्वास्थ्य चौकी तथा सायल गाउँपालिकालाई इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायाले आग्रह गर्नु भयो ।
आगामी दिनहरूमा पनि स्वास्थ्य क्षेत्रमा सायल गाउँपालिकासँग हातेमालो गरेर काम गर्नका लागि विभिन्न दातृ निकायसँग समन्वय गरी सायल क्षेत्रमा काम गर्ने अध्यक्ष रोकायले बताए ।
उक्त कार्यक्रममा बोल्दै आड्रा नेपालका निर्देशक तथा प्रमुख टम पिन्यनले आफूहरू संस्थाको लक्ष्यलाई मध्यनजर गर्दै स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आईरहको बताए ।
आड्रा नेपाल स्थानीय तहसँग हातेमालो गर्दै समुदायको हितमा काम गर्न तत्पर रहेको उनले बताए ।
उक्त कार्यक्रममा बोल्दै आड्रा नेपालका विपद् संयोजक डा. सुमन रावलले विपद् पूर्वको पूर्व तयारी र विपद् पछि हुने क्षतिलाई मध्यनजर गर्दै आड्रा नेपालले नेपालका विभिन्न ठाउँहरूमा काम गर्दै आएको बताए ।
२०७९ सालमा आएको विनाशकारी भुकम्पले यस क्षेत्रमा क्षति भए पछि आड्रा नेपालले सबै भन्दा बढी क्षति भएको यस स्वास्थ्य चौकीमा सहयोग गरी भवन निर्माणको कार्य गरेको बताए । विनाशकारी भूकम्प आए पछि आड्रा नेपाल र इन्रुडेकले पालिकाका विभिन्न स्थानहरूमा गएर अध्ययन गरिएको बताए ।
उक्त कार्यक्रममा बोल्दै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जाेशीले दातृ निकायहरूलाई गाउँपालिकामा आएर काम गर्न आग्रह गरे ।
समुदाय स्तरमा काम गर्नका लागि दातृ निकायलाई पालिकाले सहयोग तथा सहज वातावरण मनाउनका लागि सकारात्मक भूमिका खेल्ने बताउँदै दातृ निकायसँग साझेदारी गरी काम गर्न सायल गाउँपालिका तत्पर रहेको बताए ।
डौड स्वास्थ्य चौकीको भवन क्षति भएपछि स्वास्थ्य सेवालाई प्रभावित पारी दैनिक रूपमा आउने सेवाग्रहीहरुको पिर मर्कालाई मध्यनजर गर्दै सायल गाउँपालिका कार्यालयको समन्वयमा त्यहाँ संस्थाले डौड स्वास्थ्य चौकीको चार कोठे भवन निर्माण कार्य सम्पन्न गरी दैनिक रूपमा आउने सुत्केरी, गर्भ जाँच, लगायत नियमित ओपिडीमा आउने बिरामीलाई सहज भएको सायल गाउँपालिकाका प्रवक्ता नवराज उपाध्यायले बताए ।
उक्त भवन वि एण्ड वि कन्स्टक्सनद्धारा निर्माण गरिएको र आड्रा र इन्रुडेक तथा सायल गाउँपालिकाको आर्थिक सहयोग गरी करिब २३ लाख ५० हजार बराबरको लागतमा उक्त भवन निर्माण गरिएको संस्थाले जनाएको छ ।
चार कोठे स्वास्थ्य भवन तथा प्रसूति गृह र स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण कार्यक्रमको अध्यक्षता वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष डम्बर बहादुर बोगटीले गरेका थिए ।