साउन ८,डोटी – डोटी बहुमुखी क्याम्पसभित्र समस्या समाधान गर्न र त्यभित्रको वेथिति अन्त्य गर्न मागसहित नेपाल विद्यार्थी संघ डोटीले क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सुधारका लागि आठ बुँदे मागसहित मंगलबार नेविसंघ डोटीले सो ज्ञापनपत्र बुझाएको हो ।
क्याम्पसले पुस्तकालयमा प्राप्त पुस्तक तत्काल उपलब्ध हुनुपर्ने र नियमित विहान ६ बजे देखि वेलुका ५ बजेसम्म पुस्तकालय खुल्ला हुनुपर्ने, विद्यार्थिको शैक्षिक गुणस्तरलाई ध्यानमा राखी लागत परीक्षाको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य सेवा वाफत शुल्क लिईएको तर त्यो अनुसार स्वास्थ्य सेवा नभएको हुनाले प्राथमिक उपचारको व्यवस्थाका साथै छात्राहरुको लागि सेनिटरी प्याडको अनिवार्य व्यवस्था हुनुपर्ने, वार्षिक रुपमा कहिल्यै पनि अतिरीक्त क्रियाकलाप नहुने कुराको अन्त्य गरी अनिवार्य रुपमा अतिरीक्त क्रियाकलाप गर्ने व्यवस्था गर्नुपर्ने माग रहेका छन् ।
यस्तै, प्राध्यापक तथा विद्यार्थीको पोषाकमा एकरुपता हुनुपर्ने, छात्रावासमा नियमित स्वच्छ खानेपानीको परिपुर्तीका साथै अन्य अधारभूत आवश्यकताहरुको व्यवस्था हुनुपर्ने, गरीव जेहेन्दार दलित विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गर्नुपर्ने र कक्षाकोठामा शिक्षक/शिक्षिका नियमित उपस्थित नहुने भएकोले नियमित रुपमा कक्षाकोठमा उपस्थित हुनुपर्ने र दक्ष शिक्षकको व्यवस्था गर्नुपर्ने नेविसंघको माग रहेको छ ।