गणेश मौनी,चैत्र २७ डोटी:डोटीको बडीकेदार गाउँपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी तिन दिने पुनर्ताजकी तालिम मङ्गलवार देखि सुरु भएको छ ।
बडीकेदार गाउँपालिका न्यायिक समितिले आयोजना गरेको तालिमको आज एक कार्यक्रमका बिच न्यायिक समिति संयोजक एवं बडीकेदार गाउँपालिकाकी कार्यवाहक अध्यक्ष डम्मरी विष्ट कलेलले उद्घाटन गरेकी छन् ।
कार्यक्रमको उद्घाटन गर्दै न्यायिक समिति संयोजक विष्ट कलेलले पुनर्ताजकी तालिमले टोल तथा वडा स्तरमा हुने गरेका विवादहरू निरूपण गर्न मेलमिलाप कर्ताहरूलाई सहजता हुने बताइन् । तालिमका सहभागीहरूले तालिम अवधिभर ध्यान पूर्वक सिक्न आवश्यक रहेको समेत बताइन् ।
न्यायिक क्षेत्रको ज्ञान आम नागरिकहरूका लागि अति आवश्यक भएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सहभागीहरूले आफूले नजानेका कुराहरूलाई तालिम अवधिमा पूर्ण रूपमा छलफल गरी नयाँ विषय बस्तुको बारेमा जानकारी लिन आवश्यक रहेको समेत बताए ।
तालिममा न्यायिक समितिको काम कर्तत्व, अधिकार, मेलमिलापकर्ताहरूको जिम्मेवारी, गाउँ टोलमा आउने विवादहरूलाई सहज रूपमा निरूपण गर्न अपनाइने विधि लगायतका विभिन्न विषय बस्तुको बारेमा छलफल हुने आयोजकले जनाएको छ ।
बडीकेदार गाउँपालिकाको सभा हलमा सञ्चालन भइरहेको तालिममा गाउँपालिका अन्तरगत सबै वडाका मेलमिलापकर्ताहरू, न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाए लगायतको सहभागिता रहेको थियो । तालिमको सहजिकरण अधिवक्ता गणेश कडायत र रोहित देउवाले गरेका छन् ।