चैत २३, डोटी:डोटीको बोगटान फुड्सिल गाउँपालिकामा दुई सय बयानब्बे सहभागी विद्यार्थी मध्ये ३९ जना मात्रै आधारभूत तह कक्षा ८ उत्तीर्ण भएका छन् । गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को परीक्षामा १२ विद्यालयका दुई सय ९२ जना सहभागी भएकोमा ३९ जना मात्रै उत्तीर्ण भएका हुन् ।
१२ विद्यालयमा मष्टेश्वर माध्यमिक विद्यालय र सातफरी आधारभूत विद्यालयको नतिजा शून्य देखिएको छ । मष्टेश्वरबाट १६ जना र सातफरीबाट ७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । खत्याडी माध्यमिक विद्यालयबाट २३ जना सहभागी भएकोमा ५ जना, चनुकाडा आधारभूत विद्यालयका १३ जनामा ५, भवानी आधारभूत विद्यालयका १३ जनामा ७, दर्जाकोट माध्यमिक विद्यालयका ५२ जनामा ३, जोराघाट माध्यमिक विद्यालयमा ४५ जनामा २ र कानाचौर माध्यमिक विद्यालयका २४ जनामा २ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै भगवतेश्वर माध्यमिक विद्यालयका २० जनामा २, केदार अखडा माध्यमिक विद्यालयका २४ जनामा १, सिमचौर माध्यमिक विद्यालयका २६ जनामा ८ र कर्कटेश्वर माध्यमिक विद्यालयका २९ जनामा ४ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्ण भएको प्रतिशत १३ दशमलव ३६ हुन आउँछ । गत वर्ष एसइईको नतिजा कमजोर देखिएको पालिकामा यस वर्ष कक्षा ८ को नतिजा पनि चिन्ताजनक देखिएको छ ।
गाउँपालिकाले नतिजा प्रकाशित गरेसँगै सामाजिक सञ्जालमा गाउँपालिकाको आलोचना भइरहेको छ ।