Sujang

निजी विद्यालय सामुदायिक विद्यालयलाई हस्तान्तरण

मोहन शाही ,डोटी :जनप्रतिनिधि, नेता तथा सरकारी कर्मचारीहरु धमाधम निजी विद्यालय संचालनमा लगानी गरिरहेको खबर आइरहेका बेला डोटीमा भने एक वडाध्यक्षले आफ्नो निजी विद्यालय सामुदायिकलाई हस्तान्तरण गरेका छन् ।

शिखर नगरपालिका–१ गुमगाउँस्थित केदार नमुना बोर्डिङ स्कुललाई सामुदायिक विद्यालयमा समायोजन गरिएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालय संचालक समेत रहेका वडाध्यक्ष दिपक बोगटीले नजिकैको दुर्गादेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

‘जनप्रतिनिधिकै निजी विद्यालय रहेकाले सामुदायिक विद्यालयमा ध्यान जान नसकेको आरोप थियो,’ वडाध्यक्ष बोगटीले भने, ‘मैले पनि सो कुराको महसुस गरेर सामुदायिक विद्यालयको गुणस्तरमा बढी केन्द्रीत गर्न निजी विद्यालय हस्तान्तरण गरेर व्यवहारमा उतारेको हुँ ।’

उनले गत आर्थिक वर्षमा शिखर नगरपालिकाबाट प्राप्त वडाको पुरै बजेट ३० लाख रुपैयाँ वडा अर्न्तगतका ५ सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लगानी गरेका थिए । ०७१ सालमा उनी र स्थानीय छत्र जोराको संयुक्त लगानीमा केदार नमुना बोर्डिङ स्कुल स्थापना गरिएको थियो । उक्त विद्यालयमा १ सय ४० विद्यार्थी रहेको दाबी छ । बोर्डिङ स्कुलका फर्निचर र सम्पूर्ण शैक्षिक सामग्री समेत दुर्गादेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिसकिएको वडाध्यक्ष बोगटीले जानकारी दिए ।

दुर्गादेवी आविमा कक्षा ८ सम्म पढाइ हुन्छ । त्यहाँ एक सय ४३ विद्यार्थी रहेका छन् । निजी र सामुदायिक विद्यालय नजिकै रहेकाले गाउँका विद्यार्थीहरु समेत बााँडिएका थिए । ‘दुर्गादेवी आविको शैक्षिक गुणस्तर सुधार्ने प्रतिवद्धता हामीले गर्‍यौं, नयाँ शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने योजना छ’, दुर्गादेवी आविका प्रधानाध्यापक गोविन्द बोगटीले भने, ‘वडाध्यक्षले ठूलो साहस गर्नुभएको हो । दुवै विद्यालयका अभिभावकहरुसँग चरणबद्ध छलफल पश्चात समायोजन गर्ने टुंगोमा पुगेमा पुगेका हौं ।’

दुवै विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिहरु बीचको संयुक्त भेलाले दुर्गादेवी आविको गुणस्तर सुधारमा भूमिका खेल्ने सामूहिक प्रतिबद्धता समेत गरेका छन् । प्रअ बोगटीका अनुसार बोर्डिङ स्कुलले समायोजन गर्ने प्रस्ताव गरेपछि विद्यालय व्यवस्थापन समितिले अनुमोदन गरेको हो ।

शिखर–१ मा ५ सामुदायिक र २ निजी विद्यालय छन् । एउटा बोर्डिङ्ग समायोजन भइसकेको र अर्कोलाई पनि समायोजनका लागि छलफल भइरहेको वडाध्यक्ष बोगटीले जानकारी दिए । यो वडामा रहेको केदारेश्वर माध्यामिक विद्यालय सुदूरपश्चिमकै नमुना सामुदायिक विद्यालयमध्ये पर्छ । सोही विद्यालयको अनुशरण गर्दै अन्य विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि जोड दिन समायोजनको अवधारणा ल्याएको उनको दाबी छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.