चैत १० गते, डोटी : डोटीमा कपडा बैंक सञ्चालनमा आएको छ । शिखर नगरपालिका वडा नम्बर– २, कालागाडमा शनिवारदेखि कपडा बैंक सञ्चालनमा आएको छ ।
शिखर नगरपालिकामा पशु सेवा शाखामा कार्यरत कर्मचारी नारायण कठायतको अगुवाइमा कपडा बैंकको स्थापना भएको हो । बैंकको उद्घाटन गर्दै नगर प्रमुख दीर्घ बलायरले उत्कृष्ट मानवीय कार्यको लागि धन्यवाद दिँदै नगरपालिकाको पूर्ण सहयोग रहने बताए । बैंकमा कपडाका साथै खाद्य, नगद तथा कपी किताब समेत सहयोग गर्न सकिने उनले बताए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुनिता रावलले विपन्न व्यक्तिहरूका लागि कपडा बैंक सहयोगी साबित हुने बताइन् ।
‘भएको दिएर जाऊँ, चाहिएको लगेर जाऊँ’ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको कपडा बैंकमा सुरूमै ३२ जनाले कपडा सहयोग गरेका छन् भने १० जनाले कपडा लगेको बताइएको छ ।
कपडा बैंक सञ्चालनका लागि स्थानीय रतन धामीले एउटा कोठा उपलब्ध गराएका छन् ।