फागुन २३ गते ,दिपायल : एकल महिलाई आत्मनिर्भर बनाउन ड्राइभरको तालिम सँगै अटो हस्तान्तरण गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–४ की एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले ड्राइभरको तालिम सँगै अटो हस्तान्तरण गरिएको हो ।
सम विकास केन्द्र डोटी तथा दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा एक कार्यक्रमका बिच बुधवार दिपायल सिलगढी नगरपालिका – ४ कि धनसार नेपालीलाई नगर प्रमुख बाजी सीँ खड्का ‘विजय’ले अटो रिक्साको चाबी हस्तान्तरण गरेका हुन् ।
अटो हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले नगरभित्रका विपन्न, एकल र पिछडिएका महिलालाई आर्थिक रूपमा सक्षम बनाउन विभिन्न कार्यक्रम नगरले सञ्चालन गर्दै आएको बताए ।
स्थानीय सरकारको अनुभूति दिने गरी आगामी दिनमा आम नागरिक साथमा स्थानीय सरकार रहेको प्रमुख खड्काले बताए ।
एक महिनाको ड्राइभिङ तालीम पश्चात् आत्मनिर्भर बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले अटो हस्तान्तरण गरिएको नगर प्रमुख खड्काले बताए ।
श्रमिक महिलाहरूले समान ज्याला नपाएको कुरा मनमा मात्र नखारेर स्थानीय सरकारमा निवेदन सहित आएमा न्याय दिलाउन कुनै कसुर बाँकी नराख्ने प्रमुख खड्काले बताए ।
त्यस्तै हस्तान्तरण कार्यक्रम बोल्दै नगर उप प्रमुख कलावती महर साउँदले श्रमिक दिदीबहिनीहरूले काम गर्दा कसैले ठगेको अथवा समान कामको समान ज्याला नपाएको भए न्यायिक समितिमा आएमा न्याय दिलाउने उनले बताइन् ।
१५ वर्ष पहिले श्रीमान् गुमाएकी धनसरा चार सन्तानको पालनपोषणको लागी न्यून पारिश्रमिकमा काम गर्दै आएकी थिइन् । छ लाख मुल्यको अटाेरिक्सा पाउँदा खुसी व्यक्त गर्दै सहयोगीमा धन्यवाद दिइन् । मैले जसरी हिम्मत नहारेर अगाडि बढे त्यसरी नै सबै दिदीबहिनीहरुले उच्च मनोबलका साथ अगाडि बढ्न उनले अनुरोध गरिन् ।
दिपायल सिलगढी नगरपालिकाको २ लाख तथा सम विकास केन्द्र (इडिसी) र एक्सन एड नेपालले ४ लाख लगानी गरी अटो रिक्सा हस्तान्तरण गरेका हुन् । बिहीबार शिखर नगरपालिकामा पनि थप अर्को अटो रिक्सा शिखर नगरपालिकासंगको सहकार्यमा हस्तान्तरण गर्ने योजना रहेको सम विकास केन्द्र इडिसीका अध्यक्ष केशव परियारले बताए ।
सम विकास केन्द्रले ७ जना महिलालाई अटो रिक्सा चालकको लागि एक महिने तालिम समेत सञ्चालन गरेको जनाएको छ ।