गणेश मौनी,फागुन ७ डोटी:विद्यार्थीको चौतर्फी विकासमा खेलकुदको अहम् भूमिका रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताएकी छन् ।
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ को चौथो वडा स्तरीय खेलकुद प्रतियोगिताको समापन सत्रमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष विष्ट कलेलले उक्त कुरामा जोड दिएकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष विष्ट कलेलले सबै तहका बिद्यार्थिहरुको लागि पढाई का साथ साथै खेलकुद पनि उत्तिकै महत्त्वपूर्ण भएको बताइन् उनले भनिन् कुनै पनि विद्यार्थी पढ्न, लेख्नमा मात्र उत्कृष्ट भएर हुँदैन उस भित्र विभिन्न प्रकारको क्षमता हुन आवश्यक रहेकोले खेलकुदले विद्यार्थीको चौतर्फ विकासमा सहयोग पुर्याउने बताइन् ।
बडीकेदार गाउँपालिकाले खेलकुद प्रतियोगितालाई विशेष प्राथमिकताका साथ लिई खेलकुद प्रवर्द्धनमा पूर्ण सहयोग गर्ने समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर मौनीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी र स्थानीयहरूको सहभागिता रहेको थियो ।
वडा नम्बर ४ को वडा स्तरीय खेलकुद प्रतियोगितामा शिवजी मावि प्रथम
बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा स्तरीय खेलकुद प्रतियोगितामा शिवजी माध्यामीक विद्यालय प्रथम भएको छ । आधारभूत तह कक्षा ६–८ मा चार वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ कास्य सहित शिवजी मावि प्रथम भएको छ । प्रतियोगितामा ३ स्वर्ण, ७ रजत र २ कास्य सहित विष्णु मावि बरालगाउँ द्धितिय भएको छ भने ३ स्वर्ण,३ रजत र ४ कास्य सहित केदारेश्वर आधारभूत विद्यालय तृतीय भएको छ । खेलको प्रतिशप्रर्धामा रहेको महन्याल आधारभूत विद्यालयले ३ स्वर्ण, २ रजत र ५ कास्य प्राप्त गरेको थियो ।
आधारभूत तह कक्षा १–५ मा छ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा ५ स्वर्ण २ कास्य सहित शिवजी मावि नै प्रथम भएको छ । त्यस्तै ३ स्वर्ण, ४ रजत र ३ कास्य सहित महन्याल आधारभूत विद्यालय द्धितिय भएको छ । २ स्वर्ण ३ रजत र २ कास्य सहित मेलघटी आधारभूत विद्यालय तृतीय भएको थियो । प्रतियोगितामा विष्णु मावि बरालगाउँ, केदारेश्वर आधारभूत विद्यालय बाजबाटा, जनप्रेमी आधारभूत विद्यालय बनेरीको पनि सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।
प्रतियोगितामा आधारभूत कक्षा १–३ अन्तरगत छात्र छात्राको हिसाब दौड, ४–५ अन्तरगत छात्र, छात्रा र संयुक्तको हाजिर जवाफ, छात्र, छात्राको चित्र कला, १०० मिटर दौड रहेको थियो भने आधारभूत कक्षा ६–८ अन्तरगत छात्र, छात्रा र संयुक्तको हाजिर जवाफ, छात्र छात्राको भलिबल, २ सय मिटर दौड, हाई जम्प, लम्जम्प र ज्याभलिङ थ्रो लगायतका खेलहरू रहेका बडीकेदार गाउँपालिकाले जनाएको छ ।
फागुन ५ गते देखि बडीकेदार गाउँपालिकाका सबै वडाहरूमा वडा स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन भएको थियो भने आज सबै वडाहरूमा खेलकुद प्रतियोगिताको समापन भएको गाउँपालिकाले जनाएको छ ।