फागुन ५, डोटी:डोटीको आदर्श गाउँपालिकामा स्थानीय सरकार र बालबालिकाहरू बिचको पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग, आदर्श गाउँपालिकाको समन्वयमा समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकायाले पालिका स्तरमा देखिएका बालबालिकाहरूका सवालहरूलाई समाधान गर्न पालिकाले आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताइन् । उनले भनिन् बालबालिकाहरूका सवालहरूलाई उजागर गर्न पालिका स्तरीय बाल सञ्जाल छ आगामी दिनमा सञ्जाल मार्फत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन समेत सञ्चालन गरिने बताइन् ।
बालबालिकाको क्षमता विकास गर्न बालबालिकाको सहभागितामा विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको कार्यक्रमका सभाध्यक्ष एवं समान पहुँच विकास केन्द्रका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने बालबालिकाको क्षेत्रमा सबैको साझा पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सकिने समेत बताए ।
पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा पालिका स्तरमा बालबालिका सम्बन्धी विभिन्न सवालहरू पहिचान भएका समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए ।
कार्यक्रममा बालबालिकाहरूले बालबालिका माथि गरिने लगानी बढाउनु पर्ने, बाल क्लब गठन कार्यविधि निमार्ण गर्नुपर्ने, बालबालिकाहरूको नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने, बाल भेला गर्नुपर्ने बाल क्लब, सञ्जाल गठन पुनर्गठन गर्नुपर्ने, बालबालिकाहरूलाई नियमित खोप उपलब्ध गराउनु पर्ने र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सवालहरू उठान गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा पालिका उपाध्यक्ष सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शाखाका प्रमुख प्रतिनिधि, बाल क्लब तथा सञ्जालका पदाधीकारीहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रम पश्चात् पालिका अन्तरगत देखिएका बालबालिकाहरूका सवालहरूलाई सम्बोधन गर्न सहभागीहरूले सवालहरूलाई कार्यान्वयन गर्न प्रतिबद्धता जनाई कार्यान्वयन गर्न कार्य योजना समेत निमार्ण गरिएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।