फागुन १ गते ,डोटी: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गणेश बहादुर सिंहले वाराही देवी आधारभूत विद्यालय पुर्विचौकी गाउँपालिका -२ बगलेकको अनुगमन गरेका छन् । मंगलबार अनुगमनमा विद्यालयले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विद्यार्थीको सिकाइ उपलब्धि गर्न शिक्षकले तनमनका साथ लाग्नु पर्ने सिंहले बताए ।
विद्यार्थीलाई बढी जान्ने र बढी चनाखो किन बनाउन सकिन्न भन्ने बारेमा शिक्षकले आत्ममुल्यांकन गर्नुपर्ने सचिव सिंहले बताए । शिक्षकले सिप सिक्न र सिकाउने तरिका बदल्न जरुरी रहेको छ । उनले भने ,’ कक्षा कोठा बनाउने कुरा बनाउनुपर्छ चाहिन्छ । त्यो बनाइ रहने कुरा हो। तर शिक्षाको स्तर माथि उकास्न कोठा बनी सकेपछि मात्रै हुन्छ भन्ने कुरा शिक्षकले भन्न मिल्दैन ।’
आधुनिक युगमा शिक्षकले तालिमको भरमा नपरी अनलाइन बाट नयाँ नयाँ कुरा सिक्न आवश्यक रहेको उनले बताए । । सामुदायिक विकास केन्द्र डोटी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा प्राविधिक कार्यक्रम अन्तर्गत उक्त अनुगमन गरिएको थियो । अनुगमन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर विकले विद्यालयको समग्र गतिविधिको बारेमा जनाकारी गराएका थिए । प्रधानाध्यापक विकले विद्यालयको शैक्षिक स्तर सुधारका लागि आफ्नो टिम सक्रिय भएर लागि रहेको र विद्यालयमा भवन आवश्यक रहेको बताए।
विद्यालयको भौतिक अवस्था सुधारका लागि मन्त्रालयका सचिव गणेश बहादुर सिंहलाई विद्यालयले मानपत्र बुझाएका थिए ।
अनुगमनमा पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्याय, गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्का, सी.डी.सी डोटीका अध्यक्ष हेमराज जोशी ,वर्ल्ड भिजन इनटरनेशनल नेपालका चेतराज भट्टराई, विद्यालयका व्यवस्थापन समिति, सरोकारवाला र पत्रकारको उपस्थिति रहेको थियो ।