Sujang

प्रदेश सरकारले जनताका अपेक्षा सम्बोधन हुने गरी काम गरिरहेको छ : मुख्यमन्त्री शाह

माघ २७,धनगढी: दूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताका अपेक्षा सम्बोधन हुने गरि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

धनगढीमा आज आयोजित प्रदेश सरकार गठनको एक बर्षे कार्य प्रगति सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेशको विकास र समृद्धिलाई मुख्य लक्ष्य बनाएर सरकार अघि बढिरहेको बताउनुभयो ।

उहाँले प्रदेश शासन सङ्घीयताको मुल चुरो भएकाले यसलाई बलियो र संस्थागत गर्नुको विकल्प नरहेको बताउनुभयो । संघीय ऐन निर्माण र संशोधनमा ढिलाइ हुँदा तिनै तहका सरकार (संघ, प्रदेश र स्थानीय तह)का बीच सहकार्य, समन्वयमा केही समस्या यथावत् रहेको उल्लेख गर्नुहुँदै उहाँले पूर्वाधार निर्माण, राजस्व सङ्कलन तथा बाँडफाँडमा जटिलता देखिएको बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेश निजामती सेवालाई व्यवस्थित गर्न प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकसहित ५ वटा संशोधन विधेयकहरू प्रदेशसभा पेश भएको, दुई वटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको र दुई वटा नियमावली, आठ वटा कार्यविधि, तीन वटा मापदण्ड निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकार गठन भएको एक वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, पूर्वाधार विकास लगायतका क्षेत्रमा भएका काम कारबाही सन्तोषजनक रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले वित्तीय सुशासनलाई प्राथमिकता दिएर प्रदेश सरकारबाट नीतिगत सुधारका लागि आवश्यक काम भइरहेको बताउनुभयो ।

उहाँले प्रमुख राजमार्गसँग जोड्ने सम्पूर्ण सडक स्तरोन्नति गर्ने कार्यसँगै मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम सञ्चालन रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले पत्रकारहरूको पेशागत दक्षता वृद्धिका लागी पत्रकार महासंघसँगको सहकार्यमा प्रदेशका नौ वटै जिल्लामा पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयन भइरहेको बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, सामाजिक विकास मन्त्री झपट बहादुर साउद, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गितादेवी माल, प्रमुख सचिव, उच्च पदस्थ सरकारी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.