Sujang

डोटीको शिवजी आधारभूत विद्यालय टिनको टहरामा सञ्चालन, भवन निर्माणका लागि बजेट अभाव

Ban

एकेन्द्र चन्द ,डोटी :डोटीको बडीकेदार गाउँपालिका–५, केदारमाण्डौँस्थित शिवजी आधारभूत विद्यालयका विद्यार्थीहरू अझै पनि जस्तापाताले बनेको टहरामा बसेर अध्ययन गर्न बाध्य छन्।
विद्यालयको कक्षा ३, ४ र ५ मा अध्ययनरत बालबालिकाले टिनको टहरामा बसेर पढ्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ।
बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएको शिक्षा क्षेत्रमा अझै पनि सुरक्षित र उपयुक्त कक्षाकोठाको अभाव हुनु चिन्ताको विषय बनेको छ। विद्यार्थीलाई सहज, सुरक्षित र बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्नुपर्ने समयमा टहरामै कक्षा सञ्चालन गर्नुपर्ने अवस्थाले विद्यालयको भौतिक पूर्वाधारको दयनीय अवस्थालाई उजागर गरेको छ।
विद्यालयको भवन निर्माण तथा भौतिक पूर्वाधार सुधारका लागि सम्बन्धित निकायसँग पटक–पटक समन्वय गरी आवश्यक बजेट र योजना माग गरे पनि भवन निर्माणका लागि बजेट प्राप्त हुन नसकेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापाले बताए।

Krishi

“विद्यालयको भौतिक अवस्था सुधार गर्न आवश्यक बजेट र योजनाका लागि पटक–पटक माग गर्दा पनि भवन निर्माणका लागि बजेट पर्न सकेको छैन,” प्रधानाध्यापक थापाले भन्नुभयो।
शिक्षा बालबालिकाको मौलिक अधिकारसँग जोडिएको विषय हो। तर, विद्यालय भवनको अभावमा टहरामा बसेर पढ्नुपर्ने बाध्यताले ग्रामीण क्षेत्रको शैक्षिक पूर्वाधार सुधारमा अझै चुनौती रहेको देखाएको छ।
विकासका योजना छनोट गर्दा व्यक्तिगत पहुँच र स्वार्थभन्दा नागरिकको वास्तविक आवश्यकता तथा सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ। विद्यालयजस्तो आधारभूत आवश्यकतासँग जोडिएको क्षेत्रमा लगानी हुन नसक्दा बालबालिकाको सिकाइ वातावरणमै असर पर्ने अविभावकहरु भनाइरहेकोे छ।

बडीकेदार गाउँपालिकाका इन्जिनियर दिपक बमका अनुसार अघिल्लो प्रदेश सरकारले बजेट विनियोजन गरी निर्माण प्रक्रिया अघि बढाएको एउटा विद्यालय भवन अलपत्र अवस्थामा छाडेको थियो। उक्त भवन गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको जनाएको छ।

यद्यपि, शिवजी आधारभूत विद्यालयको भवन निर्माणका लागि आवश्यक बजेट अभाव भइरहेका बेला विद्यालयको भौतिक पूर्वाधार सुधारमा सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ। बालबालिकाले टिनको टहरामा बसेर अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न स्थानीय सरकार र प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.