Sujang

डोटीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु

माघ २६,डोटी : जिल्लाको पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको आयोजनामा अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । विद्यालयको ७६औं वार्षिकोत्सवको अवसरमा गरिएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्रबहादुर मल्लले शुक्रबार उद्घाटन गरेका छन् ।

 

शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पद्म पव्लिकको बी टीमलाई मर्निङ लाइट विद्यालयले पराजित गरेको छ । अर्को खेलमा दिल्वेश्वर माविले हरिहर माविलाई हरायो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा १० विद्यालयका ११ वटा टीमको सहभागिता छ । प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने आयोजक विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए ।

डोटीमा सामुदायिक विद्यालयको आयोजनामा भएको क्रिकेट प्रतियोगिता यो नै पहिलो हो ।

विद्यालयको वार्षिकोत्सव पारेर अन्तरविद्यालयस्तरीय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता समेत गरिएको छ । हाजिरीजवाफमा आधारभूत तह (कक्षा ६-८) का विद्यार्थीहरु सहभागी हुन पाउने विद्यालयले जनाएको छ । प्रतियोगितामा एउटा विद्यालयबाट पाँच जनाको समूहले भाग लिन पाउने नियम बनाइएको छ ।

‘समूहमा कम्तीमा एकजना छात्रा हुनुपर्नेछ’, प्रधानाध्यापक ओझाले भने, ‘कक्षा ६, ७ र ८ बाट समूह बनाउनु पर्नेछ ।’

हाजिरीजवाफमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

वक्तृत्वकलामा माध्यमिक तह (कक्षा ९-१२)का विद्यार्थीहरुमध्ये एक बिद्यालयबाट एक छात्रा र एक छात्र गरी दुई जनाले भाग लिन पाउनेछन् । वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

विद्यालयले फागुन २ गते ७६औं वार्षिकोत्सव मनाउँदैछ ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.