माघ १२ गते ,डोटी : उद्योग वाणिज्य संघ डोटीले बैंक तथा संघ संस्था सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रवार दिपायलमा बैंक तथा संघ संस्था सँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागी व्यापारीहरूले बैंकले जिल्लामा लगानी लगाउन कन्जुस्याइँ गरिरहेको बताएका छन् । बैंकले लगानी लगाउन लागि पहाडको धितोलाई कम महत्त्व दिएर तराईमा रहेको जग्गालाई मात्र बढी मान्यता दिएर लोन दिने गरेको उद्योग वाणिज्य संघका कोषाध्यक्ष आईजंग कुँवरले बताए । पहाडमा रहेको जग्गालाई मान्यता दिएर लगानीको वातावरण सृजना गर्नु पर्ने कुँवरले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र बहादुर खड्काले लगानी मैत्री वातावरण नभएकोले व्यापार व्यवसाय धरासयी तर्फ गइरहेको बताए ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायी खडक विक्रम शाहीले बैंकले दिने स्किम बारेमा सहज रूपमा सबैले थाहा पाउनु पर्ने बताए । ब्याजदरमा समेत व्यक्ति अनुसार केही फरक भएकोले समानता हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै हिम शिखर बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष धन बहादुर शाहीले एकै प्रकृतिको लोनमा बैंकले ब्याज फरक गर्ने गरेको गुनासो गर्नु भयो ।
कार्यक्रममा बोल्दै व्यवसायी खेम भण्डारीले बैंकको पनि सामाजिक उत्तरदायित्व भएकोले त्यता तर्फ पनि लगानी गर्नु पर्ने जोड दिए। बैंकले कृषि लोनलाई वास्तविक कृषकमा लगानी लगाउनु पर्ने समेत उनले जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक दिपायलका म्यानेजर नृप बहादुर भण्डारीले भ्यालुटरले भ्यालुलेसन गर्न नमान्दा लगानी गर्न गाह्रो भएको बताए । बैकले विभिन्न कर्जा तथा लगानी स्थानीय स्तरमा लगाएपनी सही सदुपयोग भएन भने लगानी गर्न गाह्रो हुने गरेको उनले बताए ।
अन्तरक्रियामा बोल्दै ग्लोबल बैंक दिपायलका म्यानेजर कविराज भट्टले बैंक अनुसार ब्याजदरमा केही फरक हुने गरेको बताए । बैकमा कर्जा लिनु अगाडि सेवा सुविधा अफर लगायतका बारेमा सेवा ग्राहीले बुझ्न आवश्यक रहेको उनले बताए । असल ऋणीलाई बैकले पनि ब्याजदरमा थोरै भए सहुलियत दिने गरेको भट्टले बताए ।
उद्योग वाणिज्य संघ डोटी अध्यक्ष विक्रम साउँदको अध्यक्षता गरिएको बैंक तथा संघ संस्था सँगको अन्तरक्रिया कार्यक्रममा हाेटल व्यवसायी , निर्माण व्यवसायी , जिल्लामा सञ्चालित विभिन्न बैकका प्रमुख ,प्रतिनिधि , यातायात व्यवसायी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।