माघ ९ गते :डोटीमा हाडजोर्नी सम्बन्धि निःशुल्क शल्यक्रिया शिविर संचालन हुने भएको छ । शिविर यहि फागुन ६ गतेदेखि १० गतेसम्म संचालन हुने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर निराजन श्रेष्ठले जानकारी दिए । शिविर जिल्ला अस्पतालमा संचालन हुनेछ ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं, जिल्ला अस्पताल डोटी र दिपायल सिलगढी नगरपालिकाको संयुक्त आयोजनामा संचालन हुने शिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका वरिष्ठ हाडजोर्नी विषेशज्ञहरुले सेवा दिने आयोजकले जानकारी दिएको छ ।
शिविरमा विभिन्न सेवाहरु उपलब्ध गराइने नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका निर्देशक डाक्टर कैलाश भण्डारीले जानकारी दिएका छन् । खुट्टाको पैताला फर्किएका, जन्मजात हात, खुट्टा बाङ्गीएका, हात वा खुट्टाका विकृतिजन्य समस्याहरु, हात वा खुट्टा भाँचिएका/हात वा खुट्टा भाँचिई बाङ्गीएर जोडिएका, भाँचिएकोमा पाता वा किला राखिएका छन् र त्यसलाई निकाल्नु परेमा, हातमा आगोले पोलेको, हात खुट्टामा भएका गाँठा–गुठीहरु निकाल्नु परेमा शिविरबाट सेवा लिन सकिने निर्देशक डाक्टर भण्डारीले बताएका छन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गमका जिल्लाहरुमा शिविर मार्फत निःशुल्क सेवा दिइरहेका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका प्रमुख व्यवस्थापक श्याम रुपाखेतीले बताए । उनले शिविरमा १२ सयदेखि १५ सयसम्म बिरामीलाई ओपिडि सेवा दिइने र ५० देखि ७० बिरामीको शल्यक्रिया गर्ने लक्ष्य लिएको बताए ।
यदि शिविरमा आएर उपचार सम्भव नभएका बिरामीहरुको थप उपचारका लागि नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंसम्म पु¥याउने व्यवस्था कुनै निकायबाट भएको खण्डमा उनीहरुको थप उपचार समेत निःशुल्क रुपमा गरिने रुपाखेतीले जानकारी दिएका छन् ।
ओपिडि नामदर्ता फागुन ६ गतेदेखि ९ गतेसम्म र शल्यक्रिया ६ देखि १० गतेसम्म हुने बताइएको छ । डोटी, डडेल्धुरा, अछाम र बाजुरा जिल्लाका बिरामीहरुलाई लक्षित गरि शिविर संचालन गरिने भएको हो ।