
गणेश मौनी,माघ ५ डोटी: डोटीको बडीकेदार गाउँपालिको पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना बैठक बिहीबार खड्यौलीमा सम्पन्न भएको छ ।
बैठकमा बडीकेदार गाउँपालिकाको पोषणको अवस्था, रिपोटीङ विधि, चुनौती, पोषणको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सकिने उपायहरू र आगामी योजनाको बारेमा छलफल गरिएको बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खडक धामीले बताए ।
छलफल कार्यक्रममा बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई समाधान गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले भने पालिकामा विगतका वर्ष भन्दा पछिल्ला वर्षहरूमा पोषणको क्षेत्रमा केही सुधार भएको तथ्याङ्क देखिन्छ तर पनि अझ यसलाई बढी सुधार गर्न सबैको पहल आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बडीकेदार गाउँपालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न सबैको सक्रियता आवश्यक रहेको बताए । उनले भने पालिकाको पोषणको अवस्था तथ्याङ्कमा हेर्दा एक प्रकारको छ तर फिल्डमा वास्तविक अवस्था कस्तो छ सबैले ध्यान जान आवश्यक रहेको बताए । स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाह गर्दा केही समस्या आए समयमै समन्वय गर्न आग्रह गरे । स्वास्थ्य क्षेत्रमा देखिने समस्या समाधानका लागि आफू तयार रहेको समेत अध्यक्ष साउँदले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका पोषण फोकल पर्सन सुरज खड्काले डोटी जिल्लाका सबै पालिकाको आधारमा जिल्ला स्तरमा बडीकेदार गाउँपालिकाको पोषणको अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए । भने बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धामीले बडीकेदार गाउँपालिकाको पोषणको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बडीकेदार गाउँपालिकाका जनप्रतिनिधि, पालिका अन्तरगत रहेका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।