कपिलवस्तुमा अस्ताईन कैलालीकी गोल्ड मेडल बिजेता उसु खेलाडी खड्का
गोल्ड मेडल जितेको खुशी परिवारलाई बाड्न पनि पाईनन
पौष १४, धनगढी: मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूर पश्चिमका उसु खेलाडीहरुको गाडीलाई आज बिहान ट्रकलाई ठक्कर दिदा एक जना खेलाडीको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्का रहेकी छन् । उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको छ ।
कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
उसुका राष्ट्रिय रेफ्रि राजिव गुप्ताले हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेको बताए ।
स्वर्ण पदक जितेको खुशी परिवारसंग बाड्ने खड्काको सपना अधुरो रह्यो, उसुका राष्ट्रिय रेफ्रि गुप्ताले भने, खड्काको मृत्युले सुदूरपश्चिमले एक होनहार र अनुशासित खेलाडी गुमायो । हामी उनको मृत्युले स्तब्ध भएका छौ ।
खड्काको मृत्युको खवरपछि परिवारका सदस्य बुटवल गएका छन् । उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ ।