Sujang

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, सजाय पुस २५ गते तोकिने

पुस १३,काठमाडौं : नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।

चार दिनको बहसपछि जिल्ला न्यायाधीश शिशिर ढकालको एकल इजलासले उनलाई दोषी ठहर गरेको हो।

पीडितले आफूलाई करणी भएको बताएको र सन्दीपको घटना हुँदाको दिनको क्रियाकलप विचार गर्दा करणी भएको देखिएको अदालतको ठहर छ।

उमेर विवादमा अदालतले घटना भएको बखत पिडित नाबालिग नरहेको ठहर गरेको छ। बालिग भए पनि लामिछानेले करकापमा यौन सम्बन्ध राखेको अदालतको ठहर छ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन।

न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ।

गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध गतवर्ष भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.