Sujang

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं,श्रावण ,१८ :प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की पर्सि (साउन २० गते) अनिवार्य अवकाशमा जाँदै छन् । नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्न अस्ति (मंगलबार) बैठक बसे पनि दलहरुबीच सहमति भएको थिएन ।

संविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्‍ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । सर्वोच्चमा बहाल १४ मध्ये वरिष्ठतम् न्यायाधीश श्रेष्ठ नै प्रधानन्यायाधीशको रोल क्रममा एक नम्बरमा थिए ।

को हुन् श्रेष्ठ ?

प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कानुन व्यवसायीको पृष्ठभूमिबाट नभएर न्याय सेवाको कर्मचारीका रुपमा अदालत प्रवेश गरेका हुन् ।

२०१६ असोज २० गते सुदूरपश्चिमको डोटीमा जन्मेका श्रेष्ठले कानुनमा स्नातक र मानविकी संकायमा स्नातकोत्तर गरेका छन् । उनले २०३९ सालमा अदालतको शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरे । २०५० सालदेखि उदयपुर जिल्ला न्यायाधीशबाट उनको नयाँ जिम्मेवारी सुरु भयो । श्रेष्ठ पुनरावेदन अदालतको न्यायाधीश हुँदै २०७३ साउन १७ देखि सर्वोच्च अदालतको न्यायाधीश बनेका हुन् ।

बुधबारदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक परिषद्‌को बैठक समयमा नबस्दा ९ महिनासम्म कार्यवाहक बनेरै सर्वोच्च अदालतको नेतृत्व सम्हाले । विधिवत् रुपमा प्रधानन्यायाधीश पदमा भने कार्कीको नियुक्ति जम्माजम्मी ५० दिन मात्रै रह्यो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका पालामा हरिकृष्ण कार्कीको संयोजकत्वमा न्यायालय सुधारसम्बन्धी प्रतिवेदन तयार भएको थियो । सो प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र न्यायालयको बेथिति हटाउनुपर्ने माग भइरहेका बेला स्वयं कार्कीले यसलाई कार्यान्वयनमा लैजाने समय पाएनन् ।

अब न्यायालय सुधारको जिम्मेवारी श्रेष्ठकहाँ सर्न लागेको छ । अहिले गोलाप्रथाका भरमा चलिरहेको पेसी व्यवस्थापनलाई आगामी पुस १ देखि स्वचालित प्रणालीमा लैजानुपर्ने चुनौती श्रेष्ठसामु खडा भएको छ ।

संवैधानिक परिषद्‌को सिफारिससँगै अब श्रेष्ठले संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । यसबीचमा आइतबारदेखि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीश बन्नेछन् ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.