डोटी : राष्ट्रिय जनगणना २०७८ का अनुसार डोटीको जनसङ्ख्या दुई लाख चार हजार ८ सय ३१ रहेको छ । मङ्गलवार तथ्याङ्क कार्यालय डोटीले राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक जनगणनामा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी छ । जिल्लामा एक लाख ११ हजार दुई सय २७ अर्थात् ५४ दशमलव ३० प्रतिशत महिला र ९३ हजार छ सय चार अर्थात् ४५ दशमलव ७० प्रतिशत पुरुष रहेका छन् ।
जिल्लामा लैङ्गिक अनुपात ८४ दशमलव १६ रहेको छ । यो अनुपात जनगणना २०६८ अनुसार ८५ थियो । डोटीको वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ । जनगणना २०६८ अनुसार दुई लाख ११ हजार ७ सय ४६ जनसङ्ख्या रहेकोमा २०७८ मा आइपुग्दा यो सङ्ख्या ६ हजार ९ सय १५ ले घटेर दुई लाख चार हजार ८ सय ३१ कायम भएको छ । जिल्लाको वार्षिक वृद्धिदर ऋणात्मक ० दशमलव ३२ प्रतिशत रहेको छ । २०६८ सालमा वार्षिक जनसङ्ख्या वृद्धिदर ० दशमलव २२ प्रतिशत थियो । डोटी वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने देशभरका ३४ जिल्लामा २७ औँ र सुदूरपश्चिम प्रदेशको तेस्रो स्थानमा छ । डोटी भन्दा अगाडी अछाम र बैतडी जिल्ला छ भने पछाडि डडेल्धुरा जिल्ला छ ।
डोटीका नौ पालिका मध्ये तीन पालिका जनसङ्ख्या वृद्धिदर धनात्मक छ भने ६ पालिकाको ऋणात्मक छ । सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिको जनसङ्ख्या वृद्धिदर क्रमशः ० दशमलव ४३, ० दशमलव २९ र ० दशमलव २२ प्रतिशत रहेको छ । जिल्लामै सबै भन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर घट्दो (–१.३६ प्रतिशत) छ । त्यस्तै शिखर नगरपालिका, के.आई.सिंह गाउँपालिका, बडिकेदार गाउँपालिका, पुर्विचौकी गाउँपालिका र जोरायल गाउँपालिकाको क्रमशः ऋणात्मक ० दशमलव ४३ प्रतिशत, ० दशमलव ०८ प्रतिशत, १ दशमलव १० प्रतिशत, ० दशमलव ४३ प्रतिशत र ० दशमलव ४९ प्रतिशत रहेको छ ।
जिल्लाको जनघनत्व १०१ रहेको छ । तहगत रूपमा सबै भन्दा बढी दिपायल सिलगढी नगरपालिकामा २६८ जना प्रति वर्ग किलोमिटर र सबैभन्दा कम बडिकेदार गाउँपालिकामा ४५ जना प्रति वर्ग किलोमिटर जनघनत्व रहेको छ । त्यस्तै आदर्श गाउँपालिकाको १९१, पुर्विचौकी गाउँपालिकाको १८३, सायल गाउँपालिकाको १६७, के.आइ.सिंह गाउँपालिकाको १६३, शिखर नगरपालिकाको १०७, बोगटान फुड्सिल गाउँपालिकाको ५३ तथा जोरायल गाउँपापिलकाको ४७ रहेको छ ।