सरिता कठायत, डोटी :शिक्षकहरूले विद्यालयमा आफ्नो घरको जस्तै जिम्मेवारी भएर शिक्षण गर्नुपर्ने शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताएका छन् । शुक्रवार एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै शिक्षा जस्तो क्षेत्रमा पढाइमा लापरबाही भयो भने सबैको भविष्य नै अन्धकार हुने भएकाले सबैले लाग्नु पर्ने बलायरले बताएका हुन् ।
कक्षा ५ र कक्षा ८ को परीक्षा नगर स्तरीय नगरले लिने योजना बनाएको बलायरले बताए । उनले बालबालीको भविष्यलाई ख्याल गरेर शिक्षण गर्न सहभागीमा अनुरोध गरे ।
शिक्षाको गुणस्तर बढाउनका लागि सबै विद्यालयका शिक्षकहरूले सकारात्मक तरिकाले शिक्षण गर्नुपर्ने शिखर नगरपालिकाका नगर उप -प्रमुख सुनिता रावल जोराले बताइन् । बालबालिकाको भविष्य जोडिएकोले शिक्षा क्षेत्रमा नमुना कार्य गरेर अगाडी बढ्न उनले सुझाव दिइन्।
विद्यालयमा शिक्षाको क्षेत्रमा सबै सरोकारवालाहरूको अहम् भूमिका रहने भएकोले तालीमलाई तालीम रूपमा मात्रै सीमित नराखेर व्यवहारमा उतार्न शिखर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शेर बहादुर कार्कीले बताए । प्रत्येक शिक्षकहरूलाई क्षमता अभिवृद्धि तालिमहरू बेलाबखत दिनुपर्ने बताउँदै तालिममा सिकेका कुरा शिक्षकहरूले विद्यालयमा प्रयोग गरिएको छ या छैनन् त्यो कुराको जानकारी समेत आगामी दिनमा नियमित गर्ने कार्कीले बताए ।
शिक्षकहरूलाई दक्ष बनाउन तालिमको आवश्यकता हुने भएकोले यस्ता खालका प्रभावकारी तालिमहरू आगामी दिनहरूमा पनि हुन आवश्यक रहेको शिखर नगरपालिका ९ सिताराम मावि उच्चा कोटका शिक्षक जगन्नाथ रोस्याराले बताए।
एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षक शिक्षण कार्यक्रममा प्रशिक्षक राम चन्द्र जोशीले गरेका थिए ।
एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षक प्रशिक्षण कार्यक्रम शिखर नगरपालिका कार्यालय र शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गरिएको कार्यक्रम कार्यक्रममा नगर भित्रका ६० विद्यालयका ६० जना शिक्षक शिक्षिकाहरूको तालिममा सहभागी रहेको थियो ।