Sujang

गायिका रेखा जोशी मर्यादित महिनावारी सद्भावना राष्ट्रिय दूतमा नियुक्त

डोटी : मर्यादित महिनावारी सद्भावना दूतमा लोक तथा देउडा गायिका रेखा जोशी नियुक्त भएकी छन । देशभरका बिभिन्न ठाँउमा छाउपडी प्रथा हटाउन जोशी राष्ट्रिय मर्यादित महिनावारी सद्भावना दूतको रुपमा नियुक्त भएकी हुन ।

आफ्नो सुरिलो स्वरमार्फत दर्जनौं लोक तथा देउडा गीत गाएर श्रोताको मन जित्न सफल गायीका जोशीलाई महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन सम्बन्धि काम गरिरहेका देशभर रहेका एक सय भन्दा बढी साझेदार संस्थाहरुको साझा मंच राष्ट्रिय महिनावारी सञ्जाल ‘एमएचएम पीए’ले मर्यादित महिनावारी व्यवस्थापनको राष्ट्रिय सद्भावना दूतको जिम्मेवारी दिएको हो । यस सञ्जालमा सयुक्त राष्ट्रसंघका निकायहरु, अमेरीकन, बेलायती, जर्मनी, फिनल्याण्डका दुतावासहरु समेत आवद्ध छन । ३० ओटा भन्दा बढी अन्र्तराट्रिय तथा ४० भन्दा बढी राष्ट्रिय गैर सरकारी संस्थाहरु यसमा आवद्ध छन ।

मर्यादित महिनावारी दूतको रुपमा नियुक्त गायीका जोशीले अब देशभर महिनावारी व्यवस्थापन सम्बन्धि कुसंस्कार र अन्धविश्वासका विरुद्ध जनचेतना जागरण गर्न सांगीतिक अभियान चलाउनुका साथै महिनावारिलाई मर्यादित बनाउन बिभिन्न टक सो, अन्तरकृया तथा छलफल गर्ने छिन । महिनावारीको विषयमा अब देशभर सञ्चालन हुने कार्यक्रममा सहभागी भएर नीति निर्माता र निर्णायकतहमा समेत महिनावारी व्यवस्थापन सम्बन्धि पैरवी गर्ने उनको भनाइ छ ।

कलाकारहरुले यस प्रकारका अभियानहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दा लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने देखिएकोले उनलाई सद्भावना दूतको रुपमा नियुक्त गरिएको महिनावारी स्वच्छता सम्बन्धि काम गर्ने संस्थाहरुको साझा मञ्च राष्ट्रिय महिनावारी सञ्जाल ‘एमएचएम पीए’का राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले बताए ।

कलाकारिता क्षेत्रमा उनको लोकप्रियताका कारण पनि स्थानीय स्तरमा रहेका लक्षित वर्गलाई छाउपडी प्रथाका गलत अभ्यासको बारेमा सचेतामुलक सन्देश दिन सकिने बिश्वास लिएको श्रेष्ठले बताए । उनले महिनावारी सम्बन्धि हानिकारक अभ्यासहरुको कारणले गर्दा दर्जनौं महिलाहरुले ज्यान गुमाइ रहेका बेला कलाकार जोशीलाई मर्यादित महिनावारीको राष्ट्रिय दूतमा नियुक्त गरेपछि छाउपडी प्रथा उन्मुलनमा टेवापुग्ने बताए ।

‘सद्भावनादूत भईसकेपछि विद्यार्थीहरू, ज्येष्ठ नागरिकहरू, युवाहरू, आमजनसमुदाय महिला तथा अन्य सरोकारवालाहरूबीच गायन, कन्सर्ट र स्टेज कार्यक्रम, टक शो, सामाजिक सञ्जाल, अन्तर्वार्तामार्फत महिनावारी व्यवस्थापनका सवालमा सचेनातामुलक सन्देश प्रवाह गरेर महिनावारी सम्बन्धि रहेको कु–सस्कार हटाउन लाग्ने छु ।’ उनले भने । उनले देश भरीनै यो अभियान सञ्चालन हुने भए पनि आफु सुदूरपश्चिम र कर्णाली क्षेत्रमा केन्द्रित भएर बढी काम गर्ने बताए ।

सबै तहका सरकार र बिभिन्न संघ संस्थाहरुले छाउपडी कुसंस्कार अन्त्यका लागि विभिन्न प्रयासहरु गर्दा पनि अपेक्षित उपलब्धि हासिल गर्न नसेकेको अवस्थामा आफूले यस्ता अन्धविश्वास हटाउन लागिपर्ने सदभावना दूत जोशीले बताइन ।

यस अघि पनि कलाकार जोशीले सुदूरपश्चिममा मर्यादित महिनावारी सद्भावना राजदूत भएर काम गरिसकेकी छिन । उनले छाउपडी प्रथा अन्त्य गर्नका लागि लक्षित महिला तथा युवा वर्गलाई उत्प्रेरित गर्ने र यस अभियानमा गोलबद्ध गर्दै अन्धविश्वासका विरुद्ध अभियान चलाएकी थिइन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.