

डोटी :दिपायलको पिपल्लामा सिद्धाराज ओझा स्मृति प्रतिष्ठानको भवन शिलान्यास गरिएको छ ।
बुधवार नेपाली काँग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले सिद्धाराज स्मृति प्रतिष्ठान भवनको शिलान्यास गरेका हुन् ।
दिसिनपा –४ पिपल्लामा रहेको आठ आना जनिमना स्वर्गीय नेपाली काँग्रेसका नेता तथा पुर्बमन्त्री सिद्धराज ओझाको सम्झनामा भवन निर्माण गर्न लागेको सिद्धाराज ओझा स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील घर्तीले बताए ।
ओझाको स्मृतिमा ढाईतलाको सुविधा सम्पन्न भवन बनाउन लागेको अध्यक्ष घर्तीले बताए ।
को हुन् स्वर्गीय ओझा ?
वि.सं. २००१ साल माघ ४ गते डोटीको गडसेरामा स्वर्गीय ओझा जन्मेका थिए । वि.सं. २०४८ देखि २०५३ सम्म दुई पटक नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनुभएका नेता ओझा २०४८, २०५१ र २०५६ मा डोटी जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए ।
नेता ओझाले २०४८ मा भूमिसुधार सहायकमन्त्री, २०४९ मा भूमि सुधार राज्यमन्त्री, २०५४ मा कानुन मन्त्री, २०५५ कानुन तथा न्याय र वन तथा भू–संरक्षण मन्त्री, २०५६ असारमा सामान्य प्रशासन मन्त्री र २०५६ चैत्रमा भूमि सुधार तथा व्यवस्था मन्त्री र जनसङ्ख्या तथा वातावरण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।
नेपाल विद्यार्थी सङ्घका संस्थापक सदस्यसमेत रहेका स्वर्गीय ओझा करिब १७ वर्ष नेपाली काँग्रेस जिल्ला कार्यसमिति डोटीको सभापति भएका थिए भने पटक–पटक गरी छ वर्ष जेल र सात वर्ष प्रवास (भारत) बसेका थिए ।
नेपाली भाषा साहित्यमा स्नातकोत्तर गर्नुभएका स्वर्गीय ओझाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
