डोटी -डोटीका जनप्रतिनिधिहरुले जलाधार एवं पर्यावरण संरक्षण गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । आदर्श गाउँपालिकाले जलाधार एवं पर्यावरण संरक्षण सम्बन्धी आयोजना गरेको कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले आफूहरु जलाधार एवं पर्यावरणको संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
अमेरिका स्थित एरिजोना विश्वविद्यालयको भूविज्ञान विभागमा कार्यरत भूगर्भविद् डा. टंक प्रसाद ओझाको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा डोटी जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । भूगर्भविद् ओझाले जलवायु परिवर्तनका असर, विश्व, नेपाल, डोटी एवं आदर्श गाउँपालिकाको अवस्था, जोखिम र न्यूनीकरणका विषयमा आफ्नो प्रस्तुति राखेका थिए । आदर्श गाउँपालिकामा जन्मिनु भएका वैज्ञानिक ओझा लामो समय देखि क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले आदर्श गाउँपालिकाको छुट्टै नक्सा नै बनाएर अनुसन्धान गरेका छन् ।
भूगर्भविद् ओझाले समग्र सुदुरपश्चिमको भौगोलिक अवस्थाका बारेमा गहिरो अनुसन्धान र सर्वक्षण गरिएको बताए। उनले स्थानीय सरकारले योजना बनाएर काम गरे छोटो समयमा नै जलाधार एवं पर्यावरण संरक्षण गर्न सकिने बताए। जलवायु परिवर्तन, बढ्दो जनसंख्या र वन विनासका कारण पानीका मुहान सुक्दै गएको बताउँदै सुकेका पानीका मुहान थोरै लगानीमा पुरानै अवस्थामा फर्काउन सकिने उनको दाबी छ । “पहाडमा बोरिङ सिस्टमबाट तानिएको पानीमा दिगोपन छैन,” उनले भने,” बोरिङ गरिएको पनि केही वर्षमै सुक्छ, त्यसले अन्यत्रका मुहानहरु समेत सुक्दै जान्छन् । त्यसको उत्तम विकल्प भनेको नदीबाट लिफ्टिङ्ग सिस्टमबाट पानी तान्नु हो। विशेष त पर्यावरण संरक्षणमा जोड दिन जरुरी छ। पर्यावरण संरक्षण र रिचार्ज सिस्टमबाट पानीका मुहान संरक्षण गर्न सकिन्छ । केही वर्षभित्रै त्यो नगरी सुखै छैन । त्यसैले स्थानीय सरकार जागरुक हुन जरुले छ । मैले सक्ने सहयोग गर्न म तयार छु ।”
भूगर्भविद् ओझाले सुदुरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको बताउँदै स्थानीय सरकारले भूकम्प प्रतिरोधात्मक घरहरू निर्माणका लागि प्रोत्साहन गर्नु पर्ने सुझाव दिए। पाँच सय वर्ष यता इन्डियन प्लेटमा ठूलो भूकम्प नगएको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा ठूलो भूकम्प गयो भने ठूलो मात्रामा क्षति बेहोर्नु पर्ने हुने बताए।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंहले पानीका मुहान संरक्षण, पर्यावरण संरक्षण र प्राकृतिक विवाद व्यवस्थापनका सबै निकाय र व्यक्ति प्रतिबद्ध हुनुपर्ने बताए । उनले पलिकहरुले विवाद व्यवस्थापन र संभावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी थाल्नु पर्ने सुझाव दिए ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले प्राकृतिक विवाद र त्यसको व्यवस्थापन सबै भन्दा ठूलो चौनित रहेको बताए । उनले सबै पालिका सरकार विपद् व्यवस्थापन र न्यूनीकरणका लागि साझा एजेण्डा बनाएर लाग्नु पर्ने बताउँदै भूगर्भविद् ओझाकाको विज्ञताको प्रयोग गर्दै अघि बढ्नु पर्ने बताए ।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले पुराना पानीका मुहानहरु सुक्दै गएको प्रति चिन्ता व्यक्त गरे । अहिलेको तत्काल अवस्था भन्दा पनि अब आउने दिनहरुमा, अर्को पुस्तासम्म ठूलो संकट आउन नदिन अहिलेनै सचेत हुनु पर्ने अवस्था देखा परेका कारण जलाधार एवं पर्यावरण संरक्षण गर्न जरुरी रहेको बताए । उनले यस क्षेत्रमा काम गर्न आफू प्रतिबद्ध रहेको बताए।
त्यस्तै, पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्याय, बोगाटन फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिला, केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले पनि आफूहरु जलाधार एवं पर्यावरण संरक्षण गर्न प्रतिबद्ध रहेको बताए। उनले भूगर्भविद् ओझालाई सो क्षेत्रमा काम गर्न सहयोग र सुझाव प्रदान गरिदिन अनुरोध गरे ।
आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले विज्ञहरुको सुझाव, सल्लाह र सहयोगको आधारमा पालिकालाई समृद्धितर्फ डोर्याउने बताउँदै रचनात्मक सहयोग र सुझावका लागि अपिल गरे । अध्यक्ष खड्काले विज्ञबाट प्राप्त सहयोग, सुझाव र सल्लाहको प्रयोग अघि बढ्ने बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायले स्वागत मन्तव रहेको थिइन् । कार्यक्रममा उपस्थित अतिथिहरुलाई गाउँपालिका मायाको चिनो उपलब्ध गराएको थियो ।