Sujang

किशोर किशोरीहरूलाई जीवन उपयोगी सिप तालिम

गणेश मौनी :डोटीको पूर्बिचौकी गाउँपालिका वडा नम्बर ७ पोखरी र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडामा सामुदायिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरूलाई जीवन उपयोगी सिप सम्बन्धी आधारभूत तालिम दिइएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा बालबालिबाहरुलाई जीवन उपयोगी सिप सम्बन्धी विभिन्न विषयमा जानकारी गराई दैनिक जीवनमा व्यवहारमा कार्यान्वयन गर्न सहजता होस भन्ने उद्देश्यले तालिमको आयोजना गरेको गुड नेवर्स ईन्टरनेशनल नेपालका बाल प्रायोजन सेवा तथा बाल संरक्षण सहायक छत्र बहादुर बडैलाले बताएका छन् ।
बालबालिकाहरूलाई हरेक तवरले कसरी लगनशील, सभ्य, मेहनती र अनुशासित बनाउन सकिन्छ भन्ने तालिमको मुख्य ध्येय हो । सोही अनुरूप बालबालिकाहरूलाई विभिन्न विषयमा जानकारी गराएको समेत बडैलाले बताए ।
दुई चरणमा छुट्टा छुट्टै रूपमा सञ्चालन भएको तालिममा बालबालिकाहरूका लागि जीवन उपयोगी सिपको महत्त्व, जीवन र जीवन चक्र, भावना र तनावको व्यवस्थापन, समय व्यवस्थापन, प्रभावकारी सञ्चार, सकारात्मक सोचको विकास र खुसीको अनुभूति र किशोरावस्था, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा छलफल गरिएको थियो ।
दुई चरणमा सञ्चालन भएको तालिमको जनप्रतिनिधीहरुले समापन गरेका थिए । तालिमको समापन गर्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दशरथ बलायरले तालिममा सिकेका कुराहरू विद्यार्थिहरुले व्यवहारमा उतार्नु पर्ने बताएका थिए । बालविवाह रोक्नका लागि किशोर किशोरीहरूको महत्त्वपूर्ण भूमिका हुने भएकोले यस विषयमा बालबालिकाहरुनै सचेत हुनुपर्ने समेत वडा अध्यक्ष बलायरले बताए ।
तालिम गत मङ्गलवार र बुधवार लडागडामा र बुधवार र बिहीबार पोखरीमा सञ्चालन भएको आयोजकले जनाएको छ । तालिममा दुवै स्थानमा गरी ५६ जना किशोर किशोरीहरूको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण सामुदायिक विकास केन्द्र डोटीका शिक्षा तथा संरक्षक अधिकृत एकराज बडुले र गुड नेवर्स ईन्टरनेशनल नेपालका बाल प्रायोजन सेवा तथा बाल संरक्षण सहायक छत्र बहादुर बडैलाले गरेका थिए ।
Salmuni
Leave A Reply

Your email address will not be published.