गणेश मौनी ,डोटी :बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले सार्वजनिक सेवा प्रवाहमा सुशासन ल्याउन डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् । असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बासले मङ्गलवार डोटीका प्रजिअ श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा भएको व्यवस्था अनुसार सार्वजनिक निकायले अनिवार्य सूचना अधिकारी तोक्ने र आवश्यक सूचना प्रवाह गर्ने, सूचनाको हक बमोजिम प्रक्रिया पुर्याएर सूचना माग गर्ने नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउनु पर्ने, सार्वजनिक निकायले ३÷३ महिनामा आफ्नो निकायसँग सम्बन्धित विवरण स्व स्फूर्त रूपमा सार्वजनिक गर्नुपर्ने, नियमित रूपमा नागरिकहरूको गुनासो सुनुवाइ गर्नुपर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार सार्वजनिक निकायले चौमासिक रूपमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने, बिना झन्झट आवश्यक सूचना र सेवा सर्वसाधारणलाई छिटो, छरितो तवरले उपलब्ध गराउनुपर्ने, सरकारी सवारी साधनहरूको दुरुपयोगमा नियन्त्रण गर्नुपर्ने, असल कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्नुपर्ने, सूचनाको हक सम्बन्धीको ऐन र सुशासन ऐन अक्षरशः पालना गर्नुपर्ने, स्थानीय तह तथा सबै कार्यालयहरूमा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गर्नुपर्ने लगायतका बुँदाहरू उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापन पत्र बुझ्दै ज्ञापन पत्रमा उल्लेख गरिएका सवालहरू नागरिकले प्राप्त गर्ने सेवा सँग सम्बन्धित भएकोले यसको पूर्ण कार्यान्वयन गर्ने बताए । प्रजिअ श्रेष्ठले ज्ञापन पत्रमा भएका कुराहरू केही कार्यान्वयन भइरहेका छन् बाकी सवालहरूको बारेमा प्रत्येक महिनाको पाँच गते कार्यालय प्रमुख र सूचना अधिकारीको बैठकमा पनि बृहत् रूपमा छलफल गरी परिपत्र गर्ने समेत प्रतिबद्धता जनाएको बास डोटी शाखाका अध्यक्ष सरिता कठायतले बताइन् ।
बास डोटी शाखाले आयोजना गरेको भ्रष्टाचार विरुद्धको शुद्धीकरण कार्यक्रम अन्तरगत प्लेकार्ड सहित प्रसाशन अगाडी सांकेतिक धर्ना समेत दिइएको थियो । कार्यक्रममा बास डोटी शाखाका पदाधिकारी, नागरिक समाज लगायतको समेत उपस्थिति रहेको थियो ।