

दिपायल: बैङ्क तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै व्यवसायीहरूले दिपायलमा प्रदर्शन गरेका छन्।
उद्योग वाणिज्य सङ्घ डोटीको नेतृत्वमा भएको प्रदर्शनमा ब्याजदर नघटाइए आन्दोलन चर्काउने चेतावनी दिइएको हो। चर्को ब्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर नभए व्यवसायीहरूले थप आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।
बैङ्क तथा वित्तीय संस्थाको अचाक्ली ब्याजदरका कारण व्यवसाय धराशायी हुँदा आन्दोलन गर्नुपरेको डोटीका व्यवसायीहरूले बताएका छन्।आर्थिक मन्दी चलिरहेको समयमा बैङ्क तथा वित्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको भन्दै व्यवसायी आन्दोलित हुनु परेको डोटी उद्योग वाणिज्य संघकका अध्यक्ष मोहन कलेलले बताए।
बुधवार साङ्केतिक विरोध गरिएको र ब्याजदरका कारण व्यवसायी पलायन हुन थालेका संघका अध्यक्ष कलेलले बताए। ’चर्को व्याज र राज्यको व्यवसायी पेल्ने नीतिका कारण धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको छ,’ उनले भने, ’ब्याजदरका कारण घर खेत लिलाम हुने अवस्थामा पुगेको छ।
यस्तोमा हामीलाई राज्यले काम गरिखाने विकल्प दिनु पर्यो। हाम्रो बिचल्ली हुँदैछ।’ बैङ्कहरूले ८ प्रतिशतमा दिएको ऋणको ब्याजदर बढाएर अहिले १६ प्रतिशतसम्म पुर्याउदा व्यवसाय धराशायी हुँदै गएको व्यवसायी दीपक खड्काले ले बताए।
बैङ्क तथा वित्तीय संस्थाहरूले मनलाग्दी ब्याजदर बढाएपछि व्यवसायीहरू पलायन हुने क्रम बढ्न थालेको होटेल व्यवसायी संघका अध्यक्ष राजेन्द्र शाहीले बताए ।
विरोध कार्यक्रममा निर्माण व्यवसाय सङ्घ,चेम्बर अफ कमर्स,होटेल व्यवसाय सङ्घ,सुनचादि व्यवसाय सङ्घ, स्वास्थ्य कर्मी सङ्घ, स्टेशनरि व्यवासयि व्यवसायी सङ्घ संगठन लगायतले ऐक्यबद्धता जनाएका छन्।
