डोटी -दिपायल सिलगढी नगरपालिकाले करारमा पदपुर्ती गर्न मंगलबार लिएको लिखित परिक्षामा कुनै पनि परिक्षार्थी उतिर्ण हुन सकेका छैनन् ।
पशुसेवा तर्फ २ जना सामाजिक परिचालक पदका लागि नगरपालिकाले मंगलबार लिखित परिक्षा लिएको थियो ।
परिक्षामा ९ जना सहभागि भएपनि लिखित परिक्षामा न्यूनतम ४० नम्बर उतिर्ण अंक ल्याउन कुनै पनि परिक्षार्थी सफल नभएको निमिक्त प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले बताए ।
नगरपालिकाले मंगलबार नै नतिजा प्रकाशन गरेको थियो । निष्पक्ष रुपमा लिइएको परिक्षामा कोही उतिर्ण नभएपछि परिक्षाका अन्य प्रकृया स्वतः खारेज भएको सूचीकार बताउँछन् । उनले कार्यपालिकामा छलफल गरी पुनः परिक्षा प्रकृयाका लागि बिज्ञापन गरिने बताए ।
नगरपालिकाले भदौ ८ गते बिभिन्न करार पदका लागि भर्ना खोलेको थियो । शैक्षिक प्रमाणपत्र हातमा बोकेर युवाहरु रोजगारीको चरम अभाव खेपीरहेका बेला न्यूनतम अंक समेत ल्याउन नसक्दा भने नेपालको शैक्षिक गुणस्तरप्रति आशंका जन्माएको छ ।