कैलालीको अत्तरियामा सुनचाँदी पसल बन्द, उधोग बाणिज्य संघद्घारा सुरक्षा माग
कैलाली ,४ पुस -गोली प्रहारबाट ब्यवसायी बिकास सुनार घाइते भएको घटनापछि कैलालीको अतरिया क्षेत्रका सुनचाँदी पसल बन्द गरिएको छ । असुरक्षा बढेको भन्दै सोमवार विहान देखि सम्पूर्ण पसल बन्द गरिएका सुनचाँदी ब्यवसायीहरुको भनाई छ ।
सुरक्षा घेरा भित्र पर्ने अतरिया बजार क्षेत्रमा ज्यान लिने उदेश्यले ब्यवसायीमाथी गोली प्रहारको घटनापछि सवै ब्यवसायीहरुले असुरक्षित महसुस गरिरहेको भन्दै सुनचाँदी ब्यवसायी संघ कैलालीले घटनामा सलग्नलाई पक्राउ गर्न माग गरेको छ ।
घोडाघोडी नगरपालिका १ सुखड घर भई अतरियामा सुनचाँदी पसल रहेका विकास सुनारमाथी हिजो साझ दुई जनाको समूहले गोली प्रहार गरि झोला लुटपाट गरेका थिए । गोली प्रहारबाट घाईते सुनारको माया मेट्रो अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
पसल बन्द गरि घर तर्फै जाँदै गरेको अवस्थामा सुनारमाथी अपाचे मोटरसाईकलमा आएका दुई जनाको समूहले अतरिया बजार क्षेत्र नजिकै सशस्त्र प्रहरी क्याम्प अगाडि गोली प्रहार गरेको र उनीहरुको खोजी कार्यमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैबिच अतरिया उधोग बाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै घटनामा सलग्नलाई तत्काल कानुनी दायारामा ल्याउदै ब्यवसायीहरुको सुरक्षा माग गरेको छ । संघले घटनाको घोर भर्तसना गरेको छ ।