
मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवारहरू निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा ८ र दुईवटा प्रदेशसभामा १२ गरी २० जना उम्मेदवार थिए । उनीहरूमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । उनका अनुसार आज मात्रै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका छन् ।
देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् । प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।
यस्तै, कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९० र राप्रपा उमेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् । कार्यालयका प्रमुख अवस्थीका अनुसार डडेल्धुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेश (१) का लागि २१ लाख र प्रदेशसभा (२) का लागि १९ लाख खर्चको सीमा तोकिएको थियो ।