मसुरिया– अवसरका लागि आफूले राजनीति नगरेको लोकतान्त्रिक–बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका लागि कैलाली क्षेत्र नम्बर ४ का साझा उम्मेदवार वीरबहादुर बलायरले बताएका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ७ मट्कौनामा आयोजित मतदाता भेटघाटका क्रममा बोल्दै बलायरले भने,‘राजनीतिको व्यक्तिगत फाइदा उठाउँदै आफ्ना लागि कहिल्यै मैले स्वार्थ लिएको छैन र लिने पनि छैन ।’ आफू डोटीबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा आइसकेपछिको बाँकी जीवन ४ नम्बर क्षेत्रमै बिताउने उनले बताए । उनले भने,‘म यहीबाट चुनाव लडिसकेपछि बाँकी जीवन यही क्षेत्रमा बिताउने छु । यहीका दाजुभाइलाई सहयोग गर्ने र आफू पछाडिका दाजुभाइलाई राजनीतिका लागि सिढी बनेर बस्ने छु, म हिँड्न नसक्ने हुँदा पनि अरुका झैँ चुनाव लड्ने र टिकटका लागि मरिहत्ते गर्ने छैन ।’
एतिहासिक मट्कौना गाउँमा एका बिहानै बलायर र प्रदेश सभा ‘क’का उम्मेदवार दीर्घबहादुर सोडारी एक्कासि पुगेपछि स्थानीयले भव्यताका साथ स्वागत गरेका थिए । उनीहरुले द्वन्द्वकालदेखि नै आफूहरु विकासमा पछाडि परेको र त्यसको क्षतिपूर्ति अब निर्वाचित हुने प्रतिनिधिले दिनुपर्ने बताएका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार सोडारी र प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बलायरले प्रतिवद्धतासमेत जनाएका थिए ।
मट्कौना गाउँमा विक्रम सम्वत १९९० सालमा इष्ट इण्डिया कम्पनीका जनरल म्यानेजर सर, मल्कोन बसेका थिए । मल्कोन बसेको ठाउँको अपभ्रङ्स हुँदै मट्कौना भएको थियो । सोही एतिहासिक गाउँमा पुगेका नेताहरुलाई स्थानीयले खादा तथा माला लगाएर स्वागत गरेका थिए ।