Sujang

अछाममा १० दिनसम्म मनाईने केदारनाथ मेला जारी 

अछाम संवाददाता -अछाममा लगातार १० दिनसम्म देवताको धेवल आराधाना सहित लाग्ने अछामको एकमात्रै केदारनाथ मेला जारी रहेको छ ।
अछामको कमलबजार नगरपालिका –७ जामागाउँमा लाग्ने केदारनाथ मेला केदार र छडाल देवताको आराधाना सहित मन्दिरमा दूध र घ्यु खाने गर्दछन् ।

हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताको पुजा आराधाना र धामीले खला नाच्ने गर्दछन् ।

यो बर्ष कात्तिक १३ गतेदेखि मेला शुरु भएर कात्तिक २१ गते समापन हुने केदारनाथ मन्दिरका पुजारी खडकराज खतिवडाले जानकारी दिए ।

विगतका बर्षमा कात्तिक शुक्ल त्रयोदशीको दिन ठुलो संख्यामा व्यक्तिको उपस्थिति सहित रात्री मेला लाग्ने गरेकोमा पछिल्ला २ बर्ष कोरोना भाइरस कोभिड १९ को संक्रमणको कारण नित्य पुजा सहित मेला समापन गरिने गरिएको थियो ।

यो बर्ष फेरी मेलामा रौनकता छाउने साविकको सेरा गाविसका पूर्व अध्यक्ष दिपक अधिकारीले बताए ।

१० दिनसम्म देवताको पुजा, खला नाच्ने र रात्री मेला तथा केदारनाथ मन्दिरमा दूध, घ्यू चढाउने केदारनाथ मेलाको बिशेषता हो । अछाम जिल्लाको भैसोले क्षेत्रको अन्तिम मेलाका रुपमा जामाको जात्रालाई लिने गरिन्छ । मेलाको अवसरमा डेउडा, न्याउले खेल खेल्ने गरिन्छ ।

रात्री मेलामा धामीको नाच आकर्षकका रुपमा रहन्छ । केदार र छडाल देवताको नृत्यलाई मेलाको प्रमुख आकर्षणका रुपमा हेर्ने गरिएको स्थानीय काँसीराम खतिवडाले बताए ।

धामीको नाच रात्री मेला र मन्दिरमा समेत रहने गर्दछ । केदार, छडाल र बेताल गरि ३ देवताका धामीले देवताको दैविक कला देखाउने गर्दछन् । रात्रि मेलामा छडाल देवताले करिब २० मिटर माथि घरको माथिल्लो तलाको कौसीबाट खसालिने पानी पिउने गर्दछन् भने केदार र बेताल देवताले बाघ र बिरालोको नृत्य समेत देखाउने गर्दछन् । परापूर्व कालदेखि डोटीको बडीकेदारबाट अछामको सेरा जामागाउँमा बसोबास गर्न आउनेले मेला ल्याएको र त्यहीबेला देखि नै मेला लाग्ने गरेको मन्दिरको पुजारी खतिवडाले बताए ।

१० दिनसम्म लाग्ने मेला र मेलालाई दोस्रो दशैँको रुपमा यस क्षेत्रका स्थानीयले लिने गर्दछन् । तर मेलामा कुनै बलि नचढाई धामीले दूध र घ्यू खाने गर्दछन् । अहिंसात्मक रुपमा मेला मनाईने गरिन्छ भने देउवताका धामी दलित समुदाय र पुजारी गैरदलित समुदायका रहेका छन् । यसबाट केदारनाथ मेला अहिंसा र सद्भावको पर्याय भएको स्थानीय अगुवा देवानन्द खतिवडाको भनाई छ । दशैंमा घर आउन नपाएकाहरु यतिवेला घर आउने गर्दछन् ।

यो बर्ष मेलालाई थप व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आफुहरुले समन्वय गरिरहेको वडा नम्बर ७ का वडा सदस्य बलबहादुर भण्डारीले बताए ।

 

 

 

Salmuni
Leave A Reply

Your email address will not be published.