

जेठ २४ डोटी: जिल्लाको बडिकेदार गाउँपालिका–५, कुन्थला स्थित युवा वर्ष आधारभूत विद्यालय ले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गणेश प्रसाद जोशी र उहाँकी धर्मपत्नीलाई सम्मान गरेको छ।

जोशी चैतन्य पाठशालाका अध्यक्षसमेत हुनुहुन्छ। सम्मान कार्यक्रमपछि प्रमुख अतिथि जोशीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र विकासका लागि आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले विद्यालयले शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा निरन्तर प्रयास गरिरहेको बताउँदै विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक हेम बहादुर सिराडीले विद्यालय सुधारका लागि सक्दो प्रयास भइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो।

