

चैत २९ गते ,अत्तरीया : जेष्ठ नागरिक आश्रमलाई नेपाल लोक कल्याण संघद्वारा खाद्यान्न सहयोग गरेको छ । नेपाल लोक कल्याण संघ (SWAN), महाराजगंज काठमाडौंले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. २, राधाकृष्ण टोलमा अवस्थित दृष्टि फाउण्डेसनद्वारा सञ्चालित जेष्ठ नागरिक आश्रमलाई आइतबार दस हजार बराबरको खाद्यान्न सहयोग प्रदान गरेको हो।

उक्त आश्रममा आश्रित १० जना जेष्ठ नागरिक तथा ४ जना अभिभावकविहीन बालबालिका गरी कुल १६ जनाले सहयोगबाट लाभ लिएका छन्।
सहयोग वितरण कार्यक्रममा वडा सदस्य डबल बहादुर साउद, स्थानीय समाजसेवी माधव प्रसाद पौडेल,दृष्टि फाउण्डेसनका प्रतिनिधि तथा स्थानीय सहजकर्ता लक्ष्मी शाहको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वडा सदस्य साउदले समाजका सीमान्तकृत तथा संरक्षणविहीन समुदायका लागि महत्वपूर्ण योगदान पुर्याएकोमा नेपाल लोक कल्याण संघप्रति आभार व्यक्त गर्नुभयो। साथै उहाँले यस्ता सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो।

