Sujang

कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन

Ban

माघ २३ गते ,विराटनगर:कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण तथा सामाजिक न्यायका मुद्दामा साझा आवाज निर्माण गर्ने उद्देश्यले कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन गरिएको छ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को समन्वयमा गठित यस सञ्जालले प्रदेशभर क्रियाशील सामाजिक संघ–संस्था, अभियन्ता तथा सरोकारवालाहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने लक्ष्य लिएको छ।
जलवायु परिवर्तनका असर, बढ्दो प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, स्वच्छ हावाको अभाव तथा वातावरणीय अन्यायका विषयलाई प्राथमिकतामा राख्दै सञ्जालले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी पहल गर्ने जनाएको छ। सञ्जालको मुख्य उद्देश्य वातावरणीय संरक्षण, दिगो फोहोर व्यवस्थापन, स्वच्छ हावा प्रवद्र्धन तथा जलवायु न्यायका मुद्दामा वकालत गर्नुका साथै स्थानीय तहदेखि प्रदेशस्तरसम्म जलवायु कार्यलाई प्रवद्र्धन गर्नु रहेको छ।
सञ्जालले सदस्य संस्थाहरूको मूल कार्यक्षेत्र फरक–फरक भए पनि उनीहरूका गतिविधिमा वातावरणीय सचेतना र जलवायु जिम्मेवारी समाहित गर्ने दिशामा काम गर्नेछ। यसले विभिन्न क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय बढाउने, साझा अभियान सञ्चालन गर्ने तथा समुदायस्तरमा जलवायु सचेतना विस्तार गर्ने अपेक्षा गरिएको छ।
गठन बैठकमार्फत सञ्जालको प्रदेशस्तरीय समिति समेत चयन गरिएको छ।

Krishi

समितिको संयोजकमा लखन लाल साह चयन भएका छन्। सदस्यहरूमा चन्द्रमणि गुरागाईं, किरण घिमिरे, रक्षा सिंह, लोकबहादुर बिष्ट, इन्द्रमाया विश्वकर्मा, सुजाता कुमारी देव, अनिता खतिवडा, जामुना कोईराला सिग्देल, मालती विश्वकर्मा तथा सुमन कार्की रहेका छन्। विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताले सञ्जाललाई समावेशी र प्रभावकारी बनाउने विश्वास लिइएको छ।
सञ्जाल गठनको बैठक क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले सहजीकरण गरेका थिए। उनले वर्तमान जलवायु संकटको सन्दर्भमा यस्ता सञ्जालहरूको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै कोशी प्रदेशमा प्रभावकारी जलवायु अभियानको सुरुआतका रूपमा यसलाई महत्वपूर्ण कदम भएको बताए।

क्लिन अप नेपालले सञ्जालमा नियुक्त सबै पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। सञ्जालले आगामी दिनमा नीति वकालत, क्षमता अभिवृद्धि, जनचेतना अभियान तथा सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै स्वच्छ, हरित र न्यायपूर्ण कोशी प्रदेश निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.