

कात्तिक ९ गते,अछाम -अछामको रामारोशन गाउपालिका वडा नम्वर १ मलातिकोट, तालिमा किवी खेती फस्टाएको छ । स्थानीय युवा कृषक नवीन साउदले गरेको किवी खेती लोभलाग्दो तरिकाले उत्पादन भएको हो ।
१० रोपनी जमिनमा लगाएको किवी खेती यस वर्ष प्रसस्तै मात्रामा उत्पादन भएको छ । नविनको बारीमा ८५ वटा किवीका बिरुवाबाट उत्पादन भईरहेको छ भने २ वर्ष अगाडि रोपेका ३ सय बिरुवा मध्ये १ सय ८० बिरुवा आगामी वर्षबाट उत्पादन दिने गरि तयार भइसकेका छन ।
५ वर्ष अघि १०० बिरुवा लगाएका उनको बारिबाट ८५ बिरुवाले २ वर्ष अघि देखी उत्पादन दिईरहेका छन् । किवी उत्पादन भएको पहिलो वर्षमा ६० हजार आम्दानी गरेकोमा गत वर्ष १ लाख २० हजारको किवी बिक्रि गरेको उहाँले सुनाउनुभयो । यस वर्ष

भने करिब ३ लाखको किवी बजार पठाउने नविनको योजना छ ।
रहरलाग्दो गरि किवी खेतीमा रमाईरहेका युवा कृषक साउदका अनुसार यो वर्ष बारिमा १० क्वीन्टल बढी किवी फलेको छ । किवी खेतीका लागि प्रत्येक ८ पोथी बिरुवा बराबर १ भाले बिरुवा रोप्नुपर्छ । बारिमा बेला बेलामा मलखाद र काँटछाँट गर्नुपर्छ । बिरुवा रोपेको तेस्रो वर्षबाट फल्न सुरु हुने किवीबाट वर्षौ सम्म लाभ लिन सकिने नविनको विश्वास छ ।
“अबको एक महिना (मंसिर) भित्र बारिको किवी बजार पठाउन योग्य भैसक्छ” नविनले भने – “भण्डारण र बजारको उचित व्यावस्था नहुँदा थप लगानी गर्न र व्यावसाय विस्तार गर्न अप्ठेरो भएको छ ।” स्थानीय सरकार लगायत सम्वन्धित निकायबाट सकारात्मक सहयोग गरेमा आगामि दिनमा यसलाई बृहत बनाएर व्यावसायीकतालाई थप विस्तार गर्ने उहाँको योजना छ ।
आफुले किवीको नर्सरी बनाउँने प्रयास गरेपनि सफल भईनसकेको उहाँको भनाई छ । उहाँले ओखरका बिरुवा भने उत्पादन गरेर बिक्रि गर्ने गरेका छन् । कृषिबाटै समृद्धि सम्भव रहेको बताउँदै उहाँले युवाहरु मेहनती र लगनशिल भएर कृषि कर्म गर्न सके आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताए ।

