

असार १७,धनगढी : चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका संस्थापक जिल्ला अध्यक्ष पुष्पराज जोशीलाई सम्मानित गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको समन्वयमा आयोजित ‘चलचित्र क्षेत्रका विज्ञहरूसँग चलचित्र विकास तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा जोशीलाई सम्मान प्रदान गरिएको हो ।

सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नागरिक राष्ट्रिय दैनिकका रिपोर्टर पुष्पराज जोशी विगत २२ वर्षदेखि सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य, संस्कृति, वन, वातावरण तथा सामाजिक विषयमा निरन्तर कलम चलाउँदै आएका अनुभवी पत्रकार हुन् ।
सम्मान ग्रहण गर्दै जोशीले भने, “यो सम्मानले समाजप्रति अझ बढी दायित्वबोध र जिम्मेवारी प्रदान गरेको छ । म यसलाई प्रेरणाको रूपमा लिएर अझ मेहनतका साथ काम गर्ने छु ।” कार्यक्रममा पुष्पराज जोशीका साथै पत्रकार भानुभक्त आचार्य र सुदूरपश्चिमको ठाडी भाखाकी लोकप्रिय कोलकण्ठ डिक्रादेवी बादीलाई पनि सम्मानित गरिएको थियो । यो सम्मानले प्रदेशको भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सक्रिय योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

