

साउन १५ ,कैलाली : कैलाली भजनीना बिपद जोखिम न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।
बहुउद्देश्यीय विकास समाज डडेल्धुराको आयोजनामा बिपद जोखिम न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिका – ४ खैलाडमा सम्पन्न भएको हो ।
सीमान्तकृत थारु एवं दलित समुदाय र बाढी प्रभावितहरूको बसोबास रहेको खैलाडमा हरेक वर्ष बाढी डुबानको जोखिम रहँदै आएकाले संस्थाले बिपद टास्कफोर्स गठन गरी बिपद व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।
भजनी नगरपालिकाको समन्वय,KIA को सहयोगमा बहुउद्देश्यीय विकास समाज(MPDS) डडेल्धुरा द्वारा सञ्चालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरी उनीहरूलाई नै परिचालन गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको थियो ।

उक्त क्षेत्रमा वर्षाको समयमा वरपरका स्थानीयहरूले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेत्री बेहर्नु पर्ने बाध्यता छ ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं ४ का भलबन्सा तथा पूर्व सूचना कार्यदल संयोजक सिताराम महतो ले समुदायसँगको समन्वय तथा सहकार्यमा MPDS संस्थाले बिपद जोखिम न्यूनीकरणका लागि टास्क फोर्सलाई प्रदान गरिएको अभिमुखीकरणले उनीहरूको क्षमता अभिबृद्घि, सक्रियता र परिचालनमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले बाढी तथा डुबानमा गाउँ पुरै डुब्ने भएकोले बिपद पूर्व तयारी योजना बलियो हुनुपर्ने बताए।
कार्यक्रममा भजनी नगरपालिका वडा नं ४ का वडा सदस्य दुखरानी चौधरीले टास्कफोर्सको क्षमता विकास अभिवृद्धि र परिचालनका लागि विपद् सम्बन्धी कार्यक्रमका लागि आफू वडा कार्यालयको तर्फबाट पहल गर्ने बताए।
कार्यक्रममा सामाजिक अगुवा दिल बहादुर बुढा ले बाढी तथा डुबानबाट बच्न र सचेतना अभिवृद्धि गर्ने कार्यमा यस्ता अभिमुखीकरणले विशेष सहयोग पुग्ने बताउँदै विपदमा पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सके जोखिम व्यवस्थापनमा थप टेवा पुग्ने बताए ।
कार्यक्रममा सहभागीहरूले बर्सेनि बाढी तथा डुबानबाट खैलाड बस्ती जोखिममा पर्ने भएकोले दिगो बिपद जोखिम व्यवस्थापनका लागि पहल गरी दिन आग्रह गरेका थिए ।
कार्यक्रममा बिपद जोखिम न्यूनीकरण,पूर्व तयारी,प्रतिकार्य योजना,टास्कफोर्सको परिचालन क्षमता अभिवृद्धि,पूर्व सूचना प्रणाली,बिपद बजेट योजना,जैविक तटबन्ध लगायतका विषयमा बहुउद्देश्यीय विकास समाजका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले सहजीकरण गरेका थिए । खैलाड बिपद व्यवस्थापन समिति टास्कफोर्सका अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

