भदौ १ गते ,डोटी : सुदूरपश्चिमका बिभिन्न स्थानहरुमा आज ओल्के पर्व मनाइँदैछ । सिंह संक्रान्ति अर्थात् भाद्र संक्रान्तिका दिन सुदूरपश्चिमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।
साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।
बिहानै नुहाईधुवाइ आफूभन्दा जेठा व्यक्ति र मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खान खाने लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
अघिल्लो दिन अर्थात् साउन संक्रान्तिको राती जंगलबाट बिभिन्न जडीबुटीहरु खोजी त्यसको लेप बनाएर सुत्दा हत्केल्लामा लगाएर फर्सीको पातले बाँध्ने चलन छ । बिहान उठ्दा हत्केल्ला रातो (मेहन्दी लगाए जस्तों) हुने गर्छ । यदि कसैको हत्केल्ला रातो भएन भने राती पुतना बुढी आएर उसको हात चाटेको भन्ने भनाई छ । अचेल बजारबाटै मेहन्दी किनेर दल्ने चलन पनि बढ्दो छ ।
बर्षायाममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के पर्व मनाउँदै आएको बताइएको छ ।
सुदूरपश्चिममा एउटा भनाई पनि रहेको छ । “बाँचुला भनेर ओल्के खानु, मरुला भनेर बिशु (बैशाख संक्रान्ति) खानु” अर्थात् बिशु पर्वपछि गर्मी र बर्षायाम सुरु हुने भएका कारण कतिबेला मरिने हो भन्ने थाह हुँदैन तर अब गर्मी र बर्षात् दुवैको प्रकोप कम भएपछि पक्कै बाँचिन्छ ।
भाद्र १ गतेकै दिन ग्वालाहरुले राक्षसी पुनता बुढीको आकृति थापना गर्छन् । सल्लाको लिङ्गोमा स्याउला, घाँस झुण्ड्याएर बनाइने आकृतिलाई “बुढी” भन्ने चलन छ । पौराणिक किंबदन्ती अनुसार यस पर्वमा भगवान कृष्णले राक्षसी पुतनालाई मारेपछि उनका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।
भाद्र संक्रान्तिमा थापना गरेको बुढी असोज संक्रान्तिमा पोल्ने गरिन्छ । ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिएपनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढी थाप्ने गर्दछन् ।