Sujang

वनमाया मिस

वनमाया मिस

कविता

डा. नवराज लम्साल

वनमाया मिस
कविता सुनाउन मञ्चमा आउनुभयो
मिसको आगमन आफैँमा कविताजस्तो लाग्यो !

मिस एउटा कविता सुनाउनुस् न !

तपाईँको बहे कति वर्षमा भयो
कति वर्षदेखि बस्नुभयो छाउगोठ
गोठमा सर्प आयो कि मान्छे
एक्लै बस्दा डर लाग्यो पीर
बाआमा बाआमाजस्तै लागे कि कुनै अज्ञात दुश्मनजस्ता
कुमारी सपना र अजङ्गको पहाड कुन अग्लो ?
मिस एउटा कविता सुनाउनुस् न !

तपाईँको मुहारको नीलो डाम के हो
हातको कालो
भाँडा माझेर हो कि घाँस काटेर
कुर्कुच्चा फुटेको चप्पल नभएर कि ढुङ्गाले लागेर
स्कुल आउँदा बोकेको झोलामा
टिफिन छ कि सासूका लागि किनेको औषधी ?
छोरी भएर पुल्पुलिने उमेर नसकिँदै
श्रीमती हुँदा, बुहारी हुँदा, आमा हुँदाको अनुभव कस्तो हुनेरहेछ ?
मिस एउटा कविता सुनाउनुस् न !

घाँस बिसाएर हतारिँदै आएकी छात्रालाई
ढिलो आई भनेर गाली गर्नुहुन्छ कि कठै भन्नुहुन्छ
कापी नभएर होमवर्क नगरेकालाई कुट्नुहुन्छ कि
तिनका बालाई भेटेर कापी किन्न लगाउनुहुन्छ
छात्रवृत्ति नेताले चिठी लेखेकालाई दिनुहुन्छ कि
पोेहोर खेत बगेको साइँलाको छोरीलाई दिनुहुन्छ ?
मन भएर पनि अधिकार नहुनु
र आफ्नो निर्णय अर्कैले गरिदिनुको पीडा कस्तो हुन्छ ?
मिस एउटा कविता सुनाउनुस् न !

कुरा तपाईँकै पनि छ मिस
तपाईँको शरीरमा किन मासु छैन
हाड र छालाले मात्रै कसरी उभिँदो रहेछ मान्छे
परेलाभित्रै लुकेझैँ लाग्ने आँखाले के नियाल्छ त्यसरी
किन स्कुल नै रोज्नुभयो जागिरका लागि
सहकर्मी शिक्षक के भन्छन् तपाईँलाई
के भन्छन् हेडसर
तपाईँले भनेको कुरा किन नटेरूँझैँ गर्छन् छात्रहरू ?
अभिभावकहरू स्कुल आउँदा
किन सरहरूलाई मात्र भेटेर फर्कन्छन्
विभाजनको रेखा देखेर पनि
रेखाको किनार नाघेर मझधारमा जान नपाउँदा कस्तो हुन्छ ?
मिस एउटा कविता सुनाृनुस् न !

तपाईँलाई रुने फुर्सद कतिखेर हुन्छ
जीवनमा हाँसेको याद छ, छैन
श्रीमान् सधैँ काँडा भएर आउँछन् कि
मायाको फूल पनि लिएर आउँछन्
छोराछोरी बोक्दा बोक्दा थाकेको पाखुरीमा
श्रीमान्ले कहिल्यै तेल लगाइदिएको अनुभव छ, छैन
सासूले मायालु शब्द बोलेको याद छ, छैन
ससुराले नरम स्वरमा बुहारी भनेको थाहा छ, छैन
माइतीले घर गरी खा मात्रै भन्छन् कि
हामी छौँ नआत्ती, पनि भन्छन् ?
सधैँ आदेश र उपदेश सुन्दा सुन्दा कस्तो लाग्छ ?
एउटा कविता सुनाउनुस् न मिस !

देउडा गाउने फुर्सद कहिले हुन्छ
कतिखेर कण्ठ पार्नुहुन्छ मागल
गौरा सजाउने तरिका के हो
फाग गाउनुभयो कि गाउनु भएन
धमारी खेल्नु भयो कि भएन
कहिले काहीँ अलि ढिलो घर आइपुग्दा
बाले कुटनु भयो कि कुट्नु भएन
सेप लागेको आँगनमा सिर्जनाको विरुवा कसरी हुर्काउनु ?
मिस एउटा कविता सुनाउनुस् न !

मिस मञ्चमा हुनुहुन्छ
बिस्तारै काँपिरहेछ उहाँको शरीर
सिकारु कविका कवितामा अक्षर काँपेझैँ

अनुहार बदलिएको छ मिसको
वादल बदलिएझैँ आकाशमा

हातमा रहेको कविताको पानो
झरूँझरूँ जस्तो गर्छ
बाउको गाली खाएकी
कुनै छोरीको आँखाबाट आँसु झरेझैँ

यत्तिखेर तपाईँको मनमा कस्तो छाल उठिरहेछ वनमाया मिस
एउटा कविता सुनाउनुस् न !

तपाईँको कविता सुनेपछि
मलाई पनि एउटा कविता सुनाउन मन छ यतिखेर –

मैले पढ्ने कविता :
‘वनमाया मिसको डढेलोजस्तो जीवन !’

Salmuni
Leave A Reply

Your email address will not be published.