![Sujang](https://shilakhabar.com/wp-content/uploads/2022/09/1380138577ssssss-1.png)
फागुन २० गते ,धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीयताको औचित्यमाथि प्रश्न उठिरहेका बेला सरकारहरुले इमान्दारितापूर्वक वित्तीय सुशासन कायम गर्दै जनताको सेवा गर्नुपर्ने बताएका छन् । धनगढीमा दुईदिनसम्म चलेको स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
‘जनताको सुशासन र विकासको चाहना विगतका व्यवस्थाले पूरा गर्न नसकेकैले संघीयतामा मुलुक गएको हो । अहिले यसमाथि पनि विभिन्न टिकाटिप्पणी भइरहेको छ,’ मुख्यमन्त्री शाहले भने,‘संघीयताका सरकारहरुले पारदर्शी, जवाफदेही रुीमा इमान्दारितापूर्वक वित्तीय सुशासनसहितको सेवा दिएर यसमाथि उठेका प्रश्नहरुको उत्तर दिनुपर्ने अवस्था छ ।’
मुख्यमन्त्री शाहले गरिबीको सूचकांकमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशभन्दा पनि पछाडि परेकोले यो स्थितिबाट माथि उकास्न सबैले हातेमालो गर्नुपर्ने पनि बताए । उनले भने, ‘यस्तो दर्दनाक अवस्थाबाट माथि उठाउन सबै सरकार, सरोकारवाला, नागरिक समाजले एकैसाथ हातेमालो गर्दै परिवर्तनकारी भूमिका निभाउनुपर्ने अवस्था छ ।’
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधिको शासकीय क्षमता अभिवृद्धिका लागि शुक्रबार र शनिबार गरी दुई दिन यो अन्तरक्रिया कार्यक्रम चलेको थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमका अनुसार अन्तरक्रिया कार्यक्रम उद्देश्य स्थानीय सरकार सञ्चालन र व्यवस्थापन, प्रभावकारी सेवा प्रवाह, विकास योजना तर्जुमा र कार्यान्वयन, सुशासन र परदर्शीताका सम्बन्धमा स्थानीय तहका प्रमुख÷अध्यक्षको क्षमता अभिवृद्धि गर्नु रहेको थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको समन्वय र सहकार्य पनि रहेको थियो । समापन कार्यक्रमको अध्यक्षता नेपाल नगरपालिका संघ, सुदूरपश्चिम प्रदेश संयोजक गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले गरेका थिए ।
समापनमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेतालगायतको उपस्थितीमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले समापन गरेका थिए ।