माघ २१ गते ,डोटी :नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले फागुन ६ गतेबाट हुने महासमिति बैठकमा पार्टीको विधान र मुलुकको संविधान संशोधनका विषयमा खुलेर छलफल हुने बताएका छन् ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत दिपायल पुगेको अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै आङ्देम्बेले यस्तो बताएका हुन् ।
‘फागुन ६ गतेबाट महासमिति वैठक जसलाई नीति अधिवेशन भनेका छौं,’ सहमहामन्त्री आङ्देम्बेले भने, ‘अहिले कांग्रेसले पार्टीको नीतिमा पनि र मुलुकको संविधानमा पनि कहीँकतै समस्या छन् । जसमा परिमार्जन वा सम्बोधन गर्ने आवश्यकता छ भने खुलेर नीति महाधिवेशनमा छलफल गर्छौं ।’
महासमिति बैठककै तयारीस्वरुप अहिले समुदायमा कांग्रेस अभियान सुरु गरिएको पनि उनले बताए । ‘विधानमा कहाँकहाँ समस्या छ र देशको संविधानमा कहाँ समस्या छ रु जनताको धारणा के छ भन्ने स्पष्टता खोज्न यो अभियान थालिएको हो । वार्ड–वार्डमा पठाएका हाम्रा प्रतिनिधिले त्यसको जवाफ ल्याएर नीति महाधिवेशनमा छलफल हुनेछ,’ आङ्देम्बेले भने ।
कांग्रेसको सबैभन्दा ठूलो ऐतिहासिक पार्टी भएकाले आफ्नै नेतृत्वमा मुलुकको व्यवस्थापन गर्नका लागि ल्याएको संविधानमा उठेका गुनासा पनि सम्बोधन गर्ने दायित्व कांग्रेसकै काँधमा रहेको आङ्देम्बेले बताए । उनले भने,‘यदि कहीँकतै भूगोलहरूमा गुनासा उठिरहेका छन् भने कांग्रेसले सम्बोधन गर्छ । भाषा, नीति, धर्म संस्कृति जाति आदि इत्यादिबाट समुदाय भए यो नीति महाधिवेशनबाट सम्बोधन गर्छौं ।’