

असार १५ गते, डोटी : शिखर नगरपालिकाले “शिखर सरकारको इच्छा ,प्रबिधिमैत्री शिक्षा “भन्ने मूल नारासहित तेसो शिक्षक सम्मेलन–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको व्यावसायिक क्षमता विकास तथा प्रविधिमैत्री शिक्षण प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षा, युवा तथा खेलकुद शाखाले सम्मेलन आयोजना गरेको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताउनुभयो ।
सिद्धेश्वर माध्यमिक विद्यालय, शिखर नगरपालिका–१०, बान्डुग्रीसैनमा आयोजित सम्मेलन शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह विशिष्ट अतिथि तथा शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराको विशेष उपस्थिति रहेको थियो।
सम्मेलनका अवसरमा शिखर नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम, शिखर शैक्षिक डायरी, विद्यालय अनुगमन प्रतिवेदन तथा शैक्षिक क्यालेन्डर सार्वजनिक (विमोचन) गरिएको शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले बताए । यी सामग्रीले नगरभित्रको शिक्षण सिकाइलाई व्यवस्थित, प्रभावकारी र स्थानीय आवश्यकतासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक हासिल गर्ने खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी कक्षा ८, १० र १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने शिखर नगरपालिकाका छात्रछात्रालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
यसै अवसरमा शिक्षा, सामाजिक सेवा तथा अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका संस्था तथा व्यक्तिहरूलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

नगरपालिकाले यस्ता सम्मानले शिक्षा, खेलकुद र सामाजिक सेवामा योगदान गर्ने व्यक्ति तथा संस्थालाई थप उत्साहित गर्ने विश्वास व्यक्त गरेको छ।
सम्मेलनमा सहभागी शिक्षक तथा सरोकारवालाहरूले प्रविधिमैत्री शिक्षण, गुणस्तरीय शिक्षा, स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन तथा विद्यालय व्यवस्थापनका विविध पक्षमा अनुभव आदान–प्रदान गरेका थिए।
शिखर नगरपालिकाले आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधार, सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षामा गरिएको लगानीको सदुपयोग गर्दै सिकाइको गुणस्तर सुधार गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए । यस्ता शिक्षक सम्मेलनले अनुभव आदान–प्रदान, नवीन सोच र प्रविधिमैत्री शिक्षाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै अन्य स्थानीय तहले पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
नगरपालिका अन्तरगतका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापक, शिक्षक, बालबिकास शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनप्रतिनिधिहरु लगायतको सम्मेलनमा सहभागिताम रहेको हो ।

