प्रतियोगिताको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री देउवाले प्रदेश सरकार खेल जगतको विकासका लागि निरन्तर काम गरिरहेको बताए । मन्त्री देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारको लगानी वृद्धि गर्नुका साथै वैदेशिक लगानी भित्राउन र रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताए । प्रदेश सरकारले फागुनमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रलाई विशेष महत्वका साथ उठाउने मन्त्री देउवाले प्रतिबद्धता जनाए ।
‘दूरपश्चिम खेलकुदका लागि निकै उर्वर भूमि हो यस क्षेत्रबाट थुप्रै खेलाडीले विभिन्न ओलम्पिक खेलमा भाग लिएका छन्, मन्त्री देउवाले भने, पछिल्लो पटक राष्ट्रिय क्रिकेट टोलीमा धेरै खेलाडी यसै प्रदेशका रहेका छन् ।’ खेलाडीले राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
यस्तै प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेश सरकार ‘खेलकुद विद्यालय देखि ओलम्पिक सम्म’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको बताए । सांसद ओलीले रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई विद्यालयबाट सुरु गरी ओलम्पिक सम्मको खेल यात्रा तय गर्ने गरी मिहिनेत गर्न आग्रह गरे । गत वर्ष भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता दिपायल सिलगढी नगरपालिकालाई व्यक्तिगत रु १० हजार नगद दिएका सांसद ओलीले यो प्रतियोगिताको विजेतालाई पनि १५ हजार रुपैयाँ हौसला स्वरूप प्रदान गर्ने घोषणा गरे ।
खेल हारजित मात्रै नभई जीवन पनि भएको प्रदेश सभा सदस्य चक्र मल्लले बताए । खेल जगतमा पर्याप्त लगानी नभएको बताउँदै सांसद मल्लले जिल्ला खेलकुद समितिलाई विना स्रोत काम गर्नुपर्ने अवस्था रहेको बताए ।
त्यस्तै कार्यक्रम नगर प्रमुख बाजी सिंह खड्का , गाउँपालिका महासंघ सुदुर पश्चिम अध्यक्ष तथा केआइ सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले मन्तव्य राखेका थिए ।
खेलकुद बिकास समितिका अध्यक्ष प्रकाश शाहीको अध्यक्षता भएको कार्यक्रममा मन्त्री ,प्रदेश सभा सदस्य ,जनप्रतिनिधि , सरकारी तथा गैरसरकारी संघ संस्था प्रमुख ,राजनीति दल, शिक्षक , विद्यार्थी ,प्रशिक्षक, पत्रकार लगायतको उपस्थिति रहेकोे थियो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ जिल्ला खेलकुद समिति डोटीको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका ९ ओटै पालिकाको सहभागिता रहेको छ ।
प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।